भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, २१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिनुभयो । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिनुभयो । यस्तै भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन । सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ । चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ । –––  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?