धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका छन् ।
पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधेका हुन् ।
बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए । यसअघि उनलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । शाह केन्द्रीय सदस्य भएको हुँदा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका हुन् ।
जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो । तर, प्रदेश संसदीय दलले भने नेतृत्वको निर्देशन अटेर गरेको भन्दै कारवाही प्रक्रिया थालिएको छ ।
शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । त्यस्तै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ ।
अध्यक्ष ओलीले शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने ? भन्दै चित्तबुझ्दो जवाफ मागेका छन् ।
ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।
तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । उल्टै सुदूरपश्चिम सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर पाँच मन्त्री र चार राज्यमन्त्री बनेका छन् । मन्त्रीमा दलका नेता शाह दोहोरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया