स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

RSS
78
Shares

महोत्तरी । कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका – ९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो । निवर्तमान सांसद डा सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका एवं सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल सञ्चालन गरिएको हो । अस्पतालको बिहीबार प्रदेश नं २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरे । मन्त्री साहले अस्पताललाई प्रदेश सरकारको साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट तीन किलोमिटर दूरीभित्र यो अस्पताल सञ्चालन गरिएको छ । जिल्लाको सुदूरपश्चिम दक्षिणी क्षेत्रमा पहिलोपटक कोभिड – १९ सङ्क्रमितको निःशुल्क उपचार गरिने आधुनिक सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले अब आफ्नै ठाउँमा उपचार पाउने आश सँगालेका छन् । अस्पताल सञ्चालनका लागि निवर्तमान सांसद डा यादवको संसदीय विकास कोषको रकम र पाँच स्थानीय तहले संयुक्तरूपमा रकमको जोहो मिलाएका हुन् । अस्पतालमा अत्याधुनिक शय्या, अक्सिजन सुविधासहितको उपचार र बिरामीको भोजनसहितको प्रबन्ध रहेको छ ।
जम्मा १५ स्थानीय तह रहेका जिल्लामा यसअघि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल (जलेश्वर अस्पताल), बर्दिबासस्थित बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा समेत तीन ठाउँ कोभिड–१९ अस्पताल सञ्चालनमा रहँदै आएका छन् । जिल्लाको सुदूर दक्षिणी पश्चिमी क्षेत्रमा नयाँ अस्पताल सञ्चालनमा आएपछि अब त्यस भेगका बिरामीले आफ्नै ठाउँमा उपचार पाउने अवस्थाले थप सहज भएको जिल्लास्थित कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिक्रिया दिए ।

जिल्लामा यसपालि २०७८ वैशाख १४ गतेयता हाल बिहीबारसम्म कोभिड – १९ सङ्क्रमणले ७२ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हालसम्म सङ्क्रमित दुई हजार ३६७ मध्ये ५२५ जना निको भएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । हाल एक हजार ७७० सङ्क्रमित छन् । यीमध्ये १० जना अस्पतालको सघनकक्षमा उपचाररत रहेका र बाँकी घरमै होमआइसोलेशनमा रहेका कार्यालयका कोभिड स्रोत व्यक्तिसमेत रहेकी जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन् । जिल्लामा महाव्याधी सङ्क्रमण छल्न गत वैशाख २२ यता निषेधाज्ञा जारी छ । पछिल्लो चौथोपटक जारी निषेधाज्ञा अवधि जेठ मसान्तसम्म कायम रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?