चाइनिज ताइपेइविरुद्ध नेपाल : विस्तृत विश्लेषण

काठमाडौं। ‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ छनोट अन्तर्गत गए राति खेलिएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोलले पराजित गरेको छ।

नेपालको घरेलु मैदानमा हुनुुपर्ने विश्वकप छनोटका बाँकि खेलहरु कोरोना महामारीको आक्रान्तको कारण कुवेतमा खेलिएको हो। यसैबिच नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालमा आफ्नो ज्यान जोखिममा राखेर दिन रात ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई नेपालको जित समर्पण गरेका छन्। सो खेलपछिको ‘पोस्ट म्याच कन्फरेन्स’मा प्रशिक्षक अल्मुताइरीले नेपालको जित सम्पूर्ण ‘फ्रन्टलाइन स्वास्थ्यकर्मी’मा समर्पण गर्न चाहे।

खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्दा नेपालले सहज जित हासिल गरेको हो। खेलको अधिकांश समय नेपालले ‘बल पोसेसन’मा हैकम जमाउँदा ताइपेइको पोस्टमा ३४ शट प्रहार गरेको थियो। जसमध्ये १६ शट ‘अन टार्गेट’ पनि रहेका थिए।

यसैबिच प्रशिक्षक अल्मुताइरी संयोगवश आफ्नो मातृभूमि कुवेतमा पुगेको अवस्थामा उनले नेपालको जित आफ्नो राष्ट्र कुवेतलाई पनि समर्पित गरे। “अन्जनको शुरुवाती गोलले हामीलाई खेलमा नियन्त्रण दियो, यो नतिजा सम्पूर्ण खेलाडीहरूको मेहेनतको फल हो”, अल्मुताइरीले भने।

उनले फेरि एकपटक सम्पूर्ण नेपाली फुटबल समर्थकबाट धैर्यता र विश्वासको अपेक्षा गरेका छन्। “यो मात्र शुरुवात हो, हामीले अझै खेलहरु खेल्न बाँकि छन्”, अल्मुताइरीको भनाई थियो।

फिफा वरियतामा १७१ औं स्थानमा रहेको नेपालले आफू भन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेइविरुद्ध ‘टेक्निकल’ खेलको नमुना पास्कियो। प्रशिक्षक अल्मुताइरीको रणनीति निकै नै प्रभावकारी रहेको देख्न सकिन्थ्यो।

‘४ ब्याक’को ‘फर्मेशन’मा रहेको नेपाली टोलीले अट्याकको क्रममा दुवै ‘फूल ब्याक’लाई तिब्र गतिमा अगाडि बढाएको देख्न सकिन्थ्यो। सो अवस्थामा ‘डिफेन्सिभ मिडफिल्डर’का रूपमा खेलेका पुजन उपरकोटी दुई ‘सेन्टर ब्याक’को बिचमा झरेर बल ‘फीड’ गर्ने काम गर्थे।

‘अफ द बल’ पनि ताइपेइविरुद्ध नेपालले उत्कृष्ट फुटबल खेलेको देखियो। नेपाली खेलाडीहरूको ‘पोजिसनिङ’ र ‘प्रेसिङ’ उच्च स्तरको देखिन्थ्यो। अझै प्रशिक्षक अल्मुताइरीको खेलाडी परिवर्तन पनि ‘अन पोइन्ट’ रहेको पाइयो।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा भन्दा उनले ताइपेइविरुद्धको ‘शुरुवाती ११’ मा दुई परिवर्तन गरेका थिए। नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामा खेलेका थिए। तर ६९ औं मिनेटमा मैदान प्रवेश गरेका नवयुगले खेलमा ठूलो प्रभाव बनाउन सफल भए।

८१औं मिनेटमा सुमन अर्यालको क्रसलाई उनले उत्कृष्ट ढंगले जाली चुमाउँदा नेपालको जित सुनिश्चित भएको हो। नवयुग नेपाली टोलीको ‘गोल हन्टिङ स्ट्राइकर’ हुन्, र यो उनले ताइपेइविरुद्धको ‘पोचर्स’ गोलले सावित पनि गरे।

समग्रमा ताइपेइविरुद्ध नेपालले उत्कृष्ट फुटबल खेल्यो। शुरुवाती मिनेट देखि नै खेलमा दवदवा बनाएको नेपाली टोलीले निकै नै ‘टेक्निकल’ खेल खेलेको देखियो। अब नेपालले ‘जेष्ठ २४’ गते जोर्डन र ‘जेष्ठ २८’ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

तस्वीर :एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?