काठमाडौं । निजी क्षेत्रको सबै भन्दा ठुलो साता संगठन नेपाल उद्योग वाणिज्य महासंघ सहित यसको सिंगो सञ्जाल देशब्यापी रुपमा सहयोगमा जुटेको छ ।
यतिबेला सिंगो मुलुक नै कोरोना महामारीको चपेटामा परेको छ । महासंघले कोरोना विरुद्ध लड्दै आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोग गर्न जुटिरहेको छ । कोरोनाको पहिलो लहरका कारण माथि उठ्न प्रयास गर्दैगर्दा सुरु भएको दोस्रो लहरका कारण पुनःजनजीवन प्रभावित भएको छ । सरकारले कोरोनाको संक्रमण न्युनिकरण गर्न गत वैशाख १६ गतेदेखि उपत्यकासहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरेको छ । यस्तो विषम परिस्थतिमा महासंघले सहयोग गर्दै आएको छ । कोरोनाका कारण अहिले खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय प्रभावित छन् ।
यस्तो विषम परिस्थितिमा बेलामा व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिने प्रतिवद्धता महासंघले व्यक्त गरेको छ । त्यसका साथै कोरोनाका कारण उद्योगी व्यवसायी पनि प्रभावित भएका छन् भने कतिपयले ज्यान समेत गइसकेका छन् । यस्तो संकटका अवस्थामा आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर कोरोना विरुद्धको लडाईमा लागिरहेको महासंघले जनाएको छ ।
दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसँगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आआफ्नो क्षेत्र र आआफ्नो तहबाट सहयोगमा उत्रन अपिल समेत गरेको छ । सोही अनुसार महासंघको सञ्जाल मुलुकभरी नै संचालित छ । अहिले महासंघले आइशोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क लगायतका सहयोगमा जुटिरहेको छ । त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध,जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ ।
उद्यमी व्यवसायीहरू कोरोनाका कारण समस्यामा परेका आम सर्वसाधारणलाई मानिसहरूलाई सहयोग खटिरहेको महासंघले जनाएको छ । महासंघले आँफुअन्र्तगतका करिब १ सय वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू कुनै न कुनै रूपमा मानवीय सहायता गरिरहेको महासंघले जनाएको छ ।
महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोष नै खडा गरी स्वास्थ सहयोग गरीरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी वेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइशोलेशन केन्द्र निर्माण तथा संचालन लगायतमा सहयोग गरीरहेका छन् । त्यस्तै कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा गरिरहेका छन् ।
महासंघका अनुसार विशेषगरी अधिकांशबाट अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरण, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरणमा सहयोग गरिएको छ ।
त्यस्तै,बिहान बेलुका खान समस्या भएकालाई खाद्यान्नको जोहो गरिदिने देखि जनचेतना बिस्तारमा पनि संघहरूबाट सहयोग गरेको महासंघले जनाएको छ ।
महासंघका वस्तुगत संघहरूले पनि आआफ्नो तहबाट सहयोग गरिरहेका छन् । त्यस्तै महासंघका सदस्य एसोसिएट सदस्य औद्योगिक एवं व्यवसायिक घरानाहरू, उद्योग प्रतिष्ठानहरू, बैकिङ क्षेत्रले विभिन्न अस्पतालहरूलाई आर्थिक सहयोग, अक्सिजन,औषधि सहित अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग तथा आआफ्ना कामदार कर्मचारीहरूको व्यवस्थापनमा समेत सहयोग गरिरहेको पाइन्छ ।
महासंघ आफैले पनि काठमाडौं र ललितपुरमा गरी तीनवटा आइशोलशेन संचालन गरि कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्था गर्न सहयोग गरिरहेको छ । यसका लागि महासंघले राहत कोष खडा गरेको छ । महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइशोलेशन केन्द्र अक्सिजन सहित चालु छ ।
त्यस्तै,जैन निकेतन कमल पोखरी र अक्षेश्वर महाविहार ललितपुरमा अक्सिजन विनाको ड्राइ आइसोलेसका रुपमा संचालन गरेको छ । सवै आइशोलेशन केन्द्रमा चौविसै घण्टा स्वास्थ्य चेकजांच तथा औषधिको प्रवन्ध सहितको व्यवस्था रहेको महासंघले जनाएको छ ।
महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोग गर्न संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म सयौं विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया