काठमाडौं। गत साता इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको लागि ‘डेब्यू’ गोल गरेका मनिष डाँगी अहिले नेपाली फुटबलको केन्द्रविन्दू बनेका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका १९ वर्षीय मनिषले इराकविरुद्ध शानदार ‘डेब्यू’ गोल गरेका थिए।
इराकविरुद्ध उसैको घरेलु मैदानमा नेपालले अग्रता लिनु अप्रत्याशित दृश्य थियो। तर खेलको २९औं मिनेटमा मनिषले ‘डि-बक्स’ बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए। इराक सँगसँगै नेपालको बेन्च पनि अचम्मित देखिए।
एसिया कपको छनोट खेल्ने सम्भावनालाई बलियो बनाउन नेपाललाई आज जितको दवाब छ । यसअघिको ताइपेइसँगको भेटमा नेपालले घरेलु टोलीमाथि २–० को शानदार जित निकालेको थियो ।

तिव्र गतिमा बल खेल्न सक्ने खुबीका कारण प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिषमाथि ठूलो अपेक्षा राखेको देखिन्छ । किनभने पछिल्लो मैत्रीपूर्ण खेलमा समेत उनले मनिषलाई सुरुवाती ११ मा ‘डेब्यू’ गराएका थिए । मैत्रीपूर्ण खेलमा उनले गोलगरे पछि अहिले सबैको नजर मनिषमाथि छ ।

नेपाल सुपर लिग ‘एनएसएल’मा विराटनगर सिटी एफसीका लागि वैकल्पिक विङ्गरको भुमिकामा खेल्ने मनिष निकै नै प्रतिभावान खेलाडी हुन्। कोरियाको एकेडेमीमा प्रशिक्षण गर्दै आएका मनिष परिस्थिति हेरेर ‘सेन्ट्रल मिडफिल्डर’ तथा ‘सेन्टर फरवार्ड’का रूपमा पनि फुटबल खेल्न सक्छन्। आधुनिक फुटबलको ‘प्लेटफर्म’मा एक युवा खेलाडीमा हुनु पर्ने सबै गुण उनमा भरिपूर्ण छन्। ‘बल ट्र्याक’ गर्न डिफेन्ससम्म पनि आउने मनिष “अट्याक इज द फर्स्ट डिफेन्स” मा विश्वास गर्छन्।

तिव्र गति र सहनशक्तिले भरिएका मनिषको ‘बक्स-टू-बक्स’ मिडफिल्डरका रूपमा पनि खेल्न सक्ने क्षमता देखेर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई टोलीमा समावेश गरेका हुन्। ‘एनएसएल’मा मनिषको खेल देखेर अल्मुताइरीले उनलाई आफ्नो रणनीतिमा ‘फिट’ हुने खेलाडी भनेका थिए।
आफ्ना खेलाडीबाट ‘हाई प्रेसिङ’ खेलको अपेक्षा राख्ने अल्मुताइरीको प्रणालीलाई मनिषले न्याय दिन सक्छन्। चाइनिज ताइपेइविरुद्ध मनिषको खेल हेर्न सारा नेपाल उत्सुक भएको अवस्थामा उनीबाट अर्को गोलको आशा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया