कहाँ छन् राजा वीरेन्द्रका दुई दिप गिर्वाणी र सुरंगना ? (भिडियोसहित)

२०५८ जेठ १९ । नेपाली इतिहासको कालो दिन । दरवार हत्याकाण्डका रुपमा चिनिने यो घटनामा राजा वीरेन्द्रसहित बडामहारानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको थियो ।

तत्कालीन युवराज दिपेन्द्र शाहले दरवार हत्याकाण्ड गराएको बताइएको थियो। तर यसलाई आम समुदायले विश्वास गर्न सकेका छैनन् । घटना भएको २० वर्ष भैसक्यो तर अझै पनि जनताले विश्वास गर्ने कनै तथ्य फेला परेको छैन । त्यसवेला राज परिवारमा हरेक शुक्रवार राति पार्टी गर्ने चलन थियो । त्यो दिन पनि नारायणहिटी दरबारको बिलियार्ड हलमा पार्टी चलिरहेको थियो । पार्टीमा राजपरिवारका सदस्यहरु रमाईलो गर्दै थिए ।

सोही क्रममा एकाएक त्यहाँ गोली चल्यो । रमाइलो माहोल निमेषभरमै विभत्समय बन्न पुग्यो । गोली चलेसँगै एकपछि अर्को राजपरिवारका सदस्यहरु भुँइमा ढले । राज परिवारका लागि त्यो रमझम नै अन्तिम पल रह्यो । त्यो दिनको पार्टीमा सहभागि मध्ये राजा वीरेन्द्रका वंशका रुपमा हाल दुई जना मात्रै जिवित छन् । उनीहरु हुन्, राजा बीरेन्द्रकी नातीनीहरु अर्थात छोरी श्रुतीका छोरीहरु गिर्वाणी र सुरंगना राणा ।

कति वर्षकी भइन् गिर्वाणी र सुरंगना राणा ?

तत्कालीन राजा वीरेन्द्रकी एकमात्र छोरी हुन्, श्रुती शाह । उनको विवाह २०५४ वैशाख २४ मा गोरखशमशेर राणासँग भएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति हुन्, गोरखशमशेर ।

श्रुती शाह र गोरख शमशेर राणाकी छोरी हुन्, गिर्वाणी र सुरंगना राणा । गिर्वाणीको जन्म २०५५ असार ८ मा भएको थियो भने त्यसको तीन वर्षपछि अर्थात् २०५७ असोज १६ मा सुरंगनाको जन्म भएको हो ।

दरवार हत्याकाण्ड हुँदा गिर्वाणी ३ वर्षकी थिइन् भने सुरंगना आठ महिनाकी थिइन् । अहिले गिर्वाणी २३ वर्षकी भइन् भने सुरंगना २० वर्षकी भइन् ।

कहाँ के गर्दैछन् ?

लोकप्रिय राजा वीरेन्द्रका नातिनी गिर्वाणी र सुरंगनालाई धेरैले खोजिरहेका छन् तर उनीहरु अहिलेसम्म औपचारिकरुपमा सञ्चारमाध्यममा सार्वजनिक भएका छैनन् । सञ्चारमाध्यममा मात्रै होइन औपचारिक कार्यक्रममा समेत कमै मात्रै देखिने गरेका छन् उनीहरु । सामाजिक सञ्जाल र सर्च इन्जिनमा समेत उनीहरुको गतिविधि पाउन मुस्किल छ ।

उनीहरु कहाँ के गरिरहेका छन् भन्ने विषयमा पारिवारका अत्यन्त नजिकका आफन्त बाहेक अरु कसैलाई थाहा छैन । जसलाई उनीहरुका बारेमा थाहा छ, उनीहरु यस विषयमा बोल्न चाहदैनन् । पूर्व युवराज पारस शाहका छोराछोरीहरु सामाजिक सञ्जालमा भाइरल भईरहँदा गिर्वाणी र सुरंगना भने कुन दुनियाँमा छन् धेरैलाई थाहै छैन ।

गिर्वाणी र सुरंगनाले ललितपुरको लगनखेलस्थित सेन्ट मेरिज स्कुलमा प्राइमरी तहको अध्ययन गरेका हुन् । त्यसपछि पिता गोरख शमशेर राणाले उनीहरुलाई थप अध्ययनका लागि छिमेकी मुलुक भारत लगेका थिए ।

उनीहरुलाई देहरादुनस्थित वेलह्याम्पस स्कुल भर्ना गरिदिएका थिए । गिर्वाणीले सोही स्कुलबाट गृह विज्ञानमा प्लस टु उत्तिर्ण गरेको बताइन्छ भने सुरंगनाले पनि सोही स्कुलबाट प्सल टु उत्तिर्ण गरिसकेकी छिन् । स्रोतका अनुसार गिर्वाणी र सुरंगना अहिले उच्च शिक्षाका लागि बैङ्लोरमा छन् ।

भावुक तस्वीर भाइरल  

वि सं २०६९ को जेठमा डा. खगेन्द्रबहादुर श्रेष्ठले काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनीको आयोजना गरे । डा श्रेष्ठ राजा वीरेन्द्रका चिकित्सक हुन् ।

उक्त फोटो प्रदर्शनी अवलोकनका लागि गिर्वाणी र सुरंगना पनि पुगेका थिए । सोही क्रममा गिर्वाणीको एउटा तस्वीर बाहिरिएको थियो । जुन तस्वीरमा उनले आफ्नो मावली परिवार नियाल्दै आँसु झारिरहेको देखिन्छ । यो तस्वीर अहिले पनि वेलावेला सामाजिक सञ्जालहरुमा भाइरल हुने गरेको छ ।

यसअघि गिर्वाणीलाई आमा श्रृती र बुबा गोरखले काखमा लिएको फोटो सार्वजनिक भएको थियो । यस्तै सुरंगाना जन्मिँदा थापाथलीस्थित प्रसुतीगृहमा खिचिएको एउटा तस्वीर सार्वजनिक भएको थियो । यो तस्वीरमा गिर्वाणीले सुरंगनालाई हेरिरहेको देखिन्छ । यस्तै पिता गोरख शमशेर राणाले गिर्वाणी र सुरंगानालाई डुलाईरहेको अर्को एउटा तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि करिव एक दशकपछि गिर्वाणीको अर्को तस्वीर सार्वजनिक भयो । उक्त तस्वीरमा गिर्वाणी आफ्ना पिताका साथमा बसेको देखिन्छ । त्यसको लामो समयपछि गिर्वाणी आफ्नो मामा पारस शाहसँग बसेको एउटा तस्वीर सार्वजनिक भएको छ ।

सानीआमा सहितको परिवार  

अहिले उनीहरुको परिवारमा ५ जना छन् । पिता गोरख शमशेर राणा, सानीमा दीप्ती चन्द, गिर्वाणी, सुरंगना र दिप्तीकी छोरी सुरवी ।
दरवार हत्याकाण्डमा पत्नी श्रुतिको मृत्युपछि गोरख शमशेरले त्यसको सात वर्षपछि दीप्ती चन्दसँग वैवाहिक सम्वन्ध गाँसेका थिए ।

दीप्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भाइ कृष्णबहादुर चन्दकी छोरी हुन् । उनीहरुको पारिवारिक सम्वन्ध राम्रो रहेको उनका निकटस्थहरु बताउँछन् । केही वर्ष अघि एक सार्वजनिक कार्यक्रममा गिर्वाणी र सुरंगना आफ्ना सानिआमासँग फोटोसेसनमा रमाइरहेका थिए ।

किन चाहदैनन् सार्वजनिक हुन् ?

दरवार हत्याकाण्ड हुँदा गोरख शमशेर राणा पनि पार्टीमै सहभागि थिए । राजा वीरेन्द्रलाई गोली लागेपछि उनी नै सवैभन्दा पहिले वीरेन्द्रको नजिक पुगेका थिए । सोही क्रममा उनलाई पनि गोली लागेको थियो । उनलाई गोली लागेको चाल पाएपछि सम्हाल्दै काखमा लिएकी श्रुतिको पनि गोली लागेर मृत्यु भयो । तर, समयमै उपचार पाउँदा गोरखको भने ज्यान जोगियो ।

आफूलाई सम्हालिरहेकी पत्नीसहित ससुराली परिवारको वशं नाश भएको घटना उनका लागि निकै पीडादायी बन्यो । यो घटनाले उनलाई विक्षिप्त बनायो । त्यसैकारण उनी यो स्मरणलाई आफ्नो मानसपटलबाट हटाउन चाहन्छन् । त्यसैले यो विषय संचारमाध्यममा नआओस् भन्ने उनको चाहना बुझ्न सकिन्छ । त्यसकारण आफ्ना छोरीहरुलाई सञ्चारमाध्यमले नपछ्याओस् र उनीहरुको जीवन सुरक्षा होस् भन्ने ध्येयले नै उनले गिर्वाणी र सुरंगनालाई भारतमा लगेको बुझ्न कठिन छैन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?