काठमाडौं । चीनमा ४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकार पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस मानिसमा सरेको यो पहिलो घटना भएको बताइएको छ ।
विज्ञहरुले उनीमा कसरी सङ्क्रमण सर्यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ।
ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो। तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ ।
बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना धेरै सुनिन्न ।
बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको ज्ज्ञण्ल्घ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।
‘विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन। यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,’ एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ ।

के भन्छ विश्व स्वास्थ्य सङ्गठन ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ।
‘पालिएका पक्षीमा एभीअन इन्फ्लूएन्जा प्रसार भइरहेसम्म मानिसमा त्यसको सङ्क्रमण हुनु अनौठो कुरा हैन। यो इन्फ्लूएन्जा महामारीको जोखिम यथावत् छ भन्ने एउटा सङ्केत हो,’ डब्ल्यूएचओले भनेको छ।
अहिले चराचुरुङ्गीमा बर्ड फ्लूको H10N3 नामक प्रकार फैलिरहेको छ। त्यसबाट विभिन्न युरोपेली देशहरू प्रभावित भएका छन् र त्यहाँ पालिएका लाखौँ पक्षीको सामूहिक वध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया