काठमाडौं । सरकारले देशभरका कोरोना उपचार गराइरहेको निजी तथा सरकारी अस्पताललाई सेवा प्रवाह र त्यसको शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।
विभिन्न अस्पतालले कोरोना उपचारका लागि बिरामीहरुसँग चर्को शुल्क लिएको साथै बिरामीका आफन्तलाई नै स्वास्थ्य सामाग्री ल्याउन निर्देशन दिएपछि सरकारले त्यस्तो निर्देशन दिएको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सात दिन भित्र अनिवार्य रुपमा अस्पतालबाट हुने सेवा प्रवाह र तिनको शुल्क समेत आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गर्न निर्देशन दिएको हो ।
‘यस विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाहरुले बिरामीहरुको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक प्राणवायु (अक्सिजन) को समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक व्ययभार बढाएको उपचारको लागि आवश्यक पर्ने सामाग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने गरेको, आवश्यक्ता भन्दा बढी औषधी तथा स्वास्थ्य सामाग्री खरिद गर्न लगाएको लगायत विभिन्न गुनासाहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हेलो सरकार मार्फत र कतिपय गुनासाहरु पत्रपत्रिकामार्फत एवम् कतिपय गुनासाहरु सोझै यस मन्त्रालयमा प्राप्त हुन आएकोले सो सम्बन्धमा ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ- ‘सबै अस्पतालत तथा स्वास्थ्य संस्थाहरुले ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत अनिवार्य रुपमा आ-आफ्नो वेब साइटमा सार्वजनिक गर्ने सूचना पाटीमा सबैले देख्ने गरी र सोको जानकारी स्वास्थ्य संस्था संचालन इजाजत पत्र दिने तथा नविकरण गर्ने निकाय समक्ष पठाउनु हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया