आइएमई फाउन्डेसनद्वारा ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

लोकपथ
56
Shares

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो ।

त्यसैगरी, फाउन्डेसनले समुदायद्वारा सन्चालित आइसोलेसन सेन्टरहरूलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ ।

यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु। ५८,००० (करिव ६० लाख) राहत उपलब्ध गराएको थियो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघरसंस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?