अस्ताए आदर्श राजनीतिका स्तम्भ उज्जवल थापा

विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको निधन भएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलवार (आज) अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि भाइरसले त्यसअघि दीर्घकालिन क्षति गरिसकेको र स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपनि चिकित्सकले हरसंभव प्रयास गरिरहेको बताएका थिए ।

उनको भेन्टिलेटर र इक्मो विधिबाट थापाको उपचार भइरहेको थियो ।

को हुन उज्जवल थापा ?

उज्वल थापा यस्ता नेता हुन जो युवावर्गका माझ लोकप्रिय थिए । उनले नेपाली समाजमा रहेको भ्रष्टाचार, विभेदपूर्ण संरचना र नकारात्मक मानसिकताबाट ग्रस्त समूहलाई जरैदेखी फाल्न अगुवाई गरेका थिए । करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आएका थापा नेपालको प्रमुख राजनीतिक पार्टीका नेता होइनन । उनको पार्टीले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिएको थिए ।

उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए । सरल र शालिन व्यक्तित्व उनी सार्वजनिक स्थानमा भन्दापनि धेरै युवाहरुको मनमा बसेका थिए ।

अहिलेको राजनीतिबाट ब्याकुल र यो फोहोरी दलदलबाट उन्मुक्ती पाउनका लागि नेपाली समाजका हरेक युवालाई विवेकी बनाएमात्रै राष्ट्रमा सुशासन कायम हुने उनको विचारको पछी लाखौं युवाहरु उभिएका थिए । राजनीतिमा आमुल सुधार अत्यावश्यक छ भन्ने उनको विचारका कारण नै उनले युवाहरुको मन जितेका थिए ।

नेता थापाले एक कार्यक्रममा भनेका थिए,‘सबैभन्दा पहिले राजनीतिका नाममा भइरहेको लुटतन्त्रको जालो तोड्नुपर्छ, राष्ट्र निर्माणको काम त्यहीबाट शुरु हुन्छ ।’

उनको भनाइले उनलाई साथ दिने युवाहरुको मनोबल बढेको थियो ।

थापाले बुढानिलकण्ठ स्कूल पढेका थिए उनले सन् १९९३ मा एसएलसी पास गरेका थिए । थापाले अमेरिकामा आफ्नो स्नातक तहको पढाई खगोल र भौतिक विज्ञान विषयमा गरेका थिए । त्यसपछि उनी नेपाल आए ।

नेपाल आएर उनले २०६६ मा आफ्नो अगुवाईमा बन्द हड्ताल विरोधी आन्दोलन शुरु गरे । गरिखाने वातावरणका लागि नेपाल बन्दविरुद्ध दबाब अभियान शुरु भयो । नेपाल बन्दविरुद्ध आयोजित ‘नेपाल खुल्ला छ’ अभियानमा बन्द हड्तालका दिन बिहान मोटरसाइकल रयालीको आयोजना गरे । आजसम्म पनि ‘नेपाल खुल्ला छ’ अभियान हुने गरेको छ ।

विवेकशील नेपाली दल गठन

२०७१ जेठमा १६ जनाको केन्द्रीय समिति रहेको विवेकशील नेपाली दल गठन भयो । र थापा त्यसका संयोजक तोकिए । २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवारी दियो । थापा काठमाडौं क्षेत्र नम्बर–५ मा उम्मेदवार थिए । चुनाव चिन्ह कुकुर थियो । थापा पाँचौं स्थानमा रहँदै अरु पार्टीका लागि चुनौतीका रुपमा विवेकशील नेपालीलाई उभ्याइदिएका थिए ।

त्यस्तै, २०७४ मा विवेकशीलले स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा उम्मेदवारी दियो । काठमाडौं महानगरमा विवेकशीलले २१ वर्षीया रञ्जु दर्शना न्यौपानेलाई उम्मेदवार बनायो । र, रञ्जुले एमाले, कांग्रेसलाई कडा टक्कर दिइन । उनी तेस्रो स्थानमा रहिन ।

विवेकशील र साझा पार्टी २०७४ साउन ११ मा विवेकशील साझा पार्टीको रूपमा एकीकृत भयो । तर त्यो एकता धेरै समय रहन पाएन । विवेकशील साझा पार्टीले ‘एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन’ भन्दै विज्ञप्ती जारी गर्‍यो । परिणामस्वरूप २०७५ पुस २७ मा पार्टी विभाजित भयो । त्यसपछि पुनः २०७७ मंसिर २४ मा पार्टी एकीकृत भएको थियो ।

थापालाई हार्दिक श्रद्धान्जली ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?