युरोपियन गोल्डेन बुट २०२०/२१ : ‘टप १० खेलाडी’

आर्जव घिमिरे
329
Shares
BARCELONA, SPAIN – NOVEMBER 23: The Golden Boot trophy is on display prior to the La Liga match between FC Barcelona and Granda CF at Camp Nou on November 23, 2013 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

काठमाडौं। ‘युरोपियन गोल्डेन बुट २०२०/२१’ को दौड सबै लिगको समापनसँगै अन्त्य भएको छ। युरोप भरिका धुरन्धर ‘अट्याकिङ’ खेलाडीहरू आफ्नो टिमको जितसहित व्यक्तिगत गोल संख्या बढाउन पुरै सिजन लागिपरे।

युरोपियन गोल्डेन बुटको विजेता चयन गर्नका लागि युरोपका ५ प्रमुख लिग अन्तर्गत; ‘इंग्लिश प्रिमियर लिग’, स्पेनिश ‘ला-लिगा’, जर्मन ‘बुन्डेस लिगा’, इटालियन ‘सिरी-ए’ तथा फ्रेन्च ‘लिग-१’ मा गरिएका हरेक १ गोललाई २ अंक दिइने चलन छ।

शुरुमा ‘ले इकुविप’ म्यागजिनले प्रदान गर्ने गरेको यो ‘अवार्ड’ सन् १९९६/९७ देखि ‘युरोपियन स्पोर्ट्स मिडिया’ले वितरण गर्दै आएको छ।

बार्सिलोनाका लियोनल मेस्सी यस ‘अवार्ड’का सर्वाधिक विजेता हुन। उनले ६ पटक यो ‘अवार्ड’ जित्दा, दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले ४ पटक युरोपियन गोल्डेन बुटको उपाघि जितेका छन्।

यद्यपि गत सिजन र यस सिजन फुटबल जगतका यी दुवै महान हस्ती यो ‘अवार्ड’ जित्न असफल रहे। सन् २०१९/२० सिजनको युरोपियन गोल्डेन बुटका विजेता इटालियन क्लब, ‘लाजियो’का स्ट्राइकर सिरो इम्मोबिले घोषित भएका थिए।

सन् २०२०/२१ को युरोपियन गोल्डेन बुटका शीर्ष १० खेलाडी यस प्रकार रहे

१०) ह्यारी केन | टोटनह्याम | (२३ गोल, ४६ अंक)

इंग्लिश प्रिमियर लिगका उत्कृष्ट मध्येका एक स्ट्राइकर ह्यारी केन यस सूचीको १०औं स्थानमा पर्न सफल भए। इङ्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर केनले यस सिजन २३ गोल गर्दा प्रिमियर लिगकै सर्वाधिक गोलकर्ता पनि भए।

 

९) करिम बेन्जीमा | रियल मड्रिड | (२३ गोल, ४६ अंक)

स्पेनिश क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जीमा यस सूचीमा ९औं स्थानमा पर्दछन्। रियल मड्रिडका लागि यस सिजनका सर्वाधिक गोलकर्ता बेन्जीमाले यस सिजन उत्कृष्ट फुटबल खेले पनि रियलले ला-लिगाको उपाधि भने जित्न सकेन। तर बेन्जीमाको व्यक्तिगत प्रदर्शनलाई मध्यनजर गर्दै उनलाई ५ वर्ष पछि फ्रेन्च राष्ट्रिय टोलीमा फिर्ता बोलाइयो।

 

८) जेरार्ड मोरेनो | भिल्लारियल | (२३ गोल, ४६ अंक)

यस सूचीको ८औं नम्बरमा पर्छन् भिल्लारियलका फरवार्ड मोरेनो। सन् २०२०/२१ का उत्कृष्ट मध्येका एक खेलाडी मोरेनोले भिल्लारियलका लागि पुरै सिजन शानदार प्रदर्शन देखाए। अझै म्यानचेष्टर युनाइटेडविरुद्ध युरोपा लिग फाइनलमा भिल्लारियललाई अग्रता दिलाउने गोल पनि उनले नै गरेका थिए। भिल्लारियलले यस सिजन क्लब इतिहासमै पहिलो पटक युरोपियन उपाधि जित्दा त्यसमा स्पेनियार्ड मोरेनोको ठूलो योगदान रहेको छ।

 

७) रोमेलु लुकाकु | इन्टर मिलान | (२४ गोल, ४८ अंक)

इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लुकाकुले यस सूचीको ७औं स्थान ओगटेका छन्। ११ वर्ष पछि इटालियन सिरी-ए को उपाधि जितेको इन्टरका लागि लुकाकुको योगदान अतुलनीय रह्यो। उनी यसै सिजन इन्टरका लागि सबै भन्दा छिटो ५० गोल गर्ने खेलाडी पनि भए।

 

६) किलियन एमबाप्पे | पीएसजी | (२६ गोल, ५२ अंक)

फ्रान्स तथा पीएसजीका सुपरस्टार एमबाप्पे यस सिजन फ्रेन्च लिग-१ का सर्वाधिक गोलकर्ता बने। उनले पीएसजीका लागि सन् २०२०/२१ मा २६ गोल गरे। यद्यपि उनको योगदानले मात्र पीएसजीलाई लिग-१ उपाधि जिताउन पर्याप्त भने भएन।

 

५) अर्लिंग हाल्यान्ड | बोरुसिया डर्टमन्ड | (२७ गोल, ५४ अंक)

विश्व फुटबलमा पछिल्लो समयमा निकै चर्चामा आएको नाम हो अर्लिंग हाल्यान्ड। २० वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्डले यस सिजन डर्टमन्डका लागि २७ गोल गरे। गत सिजनको मध्यान्तरमा डर्टमन्ड आएका हाल्यान्डले यस सिजन उत्कृष्ट फुटबल खेल्दै फुटबल जगतमा आफ्नो आगमनको बिगुल फुकेका छन्।

 

४) आन्द्रे सिल्भा | आइन्टराक्ट फ्र्याङ्कफर्ट | (२८ गोल, ५६ अंक)

यस सूचीको सबै भन्दा अप्रत्याशित नाम हो आन्द्रे सिल्भा। यति भन्दा उनको प्रतिभालाई कदर नगरेको भने होइन। तर सन् २०१७ मा ‘पोर्टो’बाट ‘एसी मिलान’ प्रस्थान गरेका सिल्भा खासै चल्न सकेका थिएनन्। सन् २०१८ मा ‘सेभिया’ र त्यसपछिको सिजन ‘फ्र्याङ्कफर्ट’मै लोनमा बिताएका सिल्भाले आफ्नो करियरको पुनरागमन गरेका छन्। २५ वर्षीय सिल्भाले यस सिजन उत्कृष्ट फुटबल खेल्दै ‘युरो कप’का लागि पोर्चुगिज टोलीमा आफ्नो स्थान पक्का गरेका छन्।

 

३) क्रिस्टियानो रोनाल्डो | युभेन्टस | (२९ गोल, ५८ अंक)

सर्वाधिक गोलकर्ता भन्ने बित्तिकै रोनाल्डोको नाम सदैव आउने गर्दछ। सिरी-ए मा युभेन्टसले यस सिजन सन्तोषजनक फुटबल खेल्न असफल भएपनि रोनाल्डोले भने आफ्नो ‘फर्म’मा केहि कमी आउन दिएनन्। उनले घरेलु लिगमा यस सिजन २९ गोल गर्दा युभेन्टस र सिरी-ए दुवैको सर्वाधिक गोलकर्ता बने।

 

२) लियोनल मेस्सी | बार्सिलोना | (३० गोल, ६० अंक)

जहाँ रोनाल्डो, त्यहाँ मेस्सी। संयोग भन्ने की यी दुईको नियति, यो दौड पछिल्लो १५ वर्ष देखि यसरी नै चली आएको छ। युरोपियन गोल्डेन बुटका सर्वाधिक विजेता मेस्सी यस सूचीको दोस्रो नम्बरमा परेका छन्। ला-लिगामा तेस्रो स्थानमा रहेको बार्सिलोनाका लागि उनले ३० गोल गरे। उनी यस सिजन ला-लिगाका सर्वाधिक गोल कर्ता पनि हुन्।

 

१) रोबर्ट लेवान्डोस्की | बायर्न म्युनिक | (४१ गोल, ८२ अंक)

फुटबल जगतका उत्कृष्ट मध्येका एक रोबर्ट लेवान्डोसकीले यस सिजनको ‘गोल्डेन बुट’ जितेका छन्। बायर्नका लागि कीर्तिमानी सिजन खेलका लेवान्डोस्कीले घरेलु लिगमा ४१ गोलको कीर्तिमान रचे। सो कीर्तिमान रच्ने क्रममा उनले ‘जर्ड मुलर’को ४९ वर्षको रेकर्डलाई तोडेका हुन। मुलरले सन् १९७१/७२ मा ४० गोल गर्दै कीर्तिमान रचेका थिए। यसैबिच ३२ वर्षीय पोलिश कप्तान लेवान्डोस्कीको यो पहिलो ‘युरोपियन गोल्डेन बुट’ उपाधि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?