डब्ल्यूएचओले गर्‍यो कोरोनाको नयाँ भेरियन्टलाई नाम दिने घोषणा

लोकपथ
133
Shares

काठमाडौं । कोरोना भाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने घोषणा गरेको छ ।

अबदेखि विश्व स्वास्थ्य सङ्गठनले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।

अब भेरियन्टका नाम के हुनेछन् ?

जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो ।

जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिनेछ । यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2  भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो।

हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरियन्ट कहिले पनि भनेको थिएन।

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै ‘भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न’ भनेकी छन्।

उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताइन्।

अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन्।

तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ।

  • बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?