काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ । छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उनी चियामात्रै पिउदैन् ।
दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्छन् । लकडाउन अघिसम्म दाल, भात तरकारीले उनको पूरै परिवारको पेट भरिन्थ्यो । लकडाउनले आम्दानी खोसिएपछि चिया र भुजाले पेट भर्ने गरेको उनले बताए ।
भारतको मधुबनी नरैया विवाह गरेर दिएकी छोरीको श्रीमानको १० वर्षअघि मृत्यु भयो । उनको जेठाजु, देवरले साथ, सहयोग गरेनन्, सासुससुराले पाल्न सकेनन् । दुःख पाएर प्रवीणा चार सन्तानसहित माइतघर फर्किए । इस्लामको श्रीमतीको तीन वर्ष अघि मृत्यु भएपछि उनी छोरी, नाती, नातिनीको संरक्षण गर्दै बसेका छन् । सासुससुरालाई पाल्न कर नलागे पनि आफूले जन्माएको छोरीलाई कसरी अलपत्र छाड्नु भनेर सँगै राखेको उनले बताए ।
भारतको जोगबनीबाट आएका इस्लामले राजविराजमा निकै काम खोजे । कुनै काम नपाएपछि दिदी सकिना खातुनले गर्दै आएको कवाडी संकलनको काम रोजे । उनी काँधमा ठूलो थैलो बोकेर विराटनगर, इटहरी, झुम्का, इनरुवा, राजविराज ओहोरदोहोर गरिरहन्छन् । त्यो काममा उनीसँगै नातीहरूले पनि पालो लगाएर सहयोग गर्छन् । प्लाष्टिक, पन्नी, कार्टुनहरू खोज्न शहर–शहर डुलेर कवाडी संकलन गर्ने उनको पेशा लकडाउनसँगै बन्द भएको छ ।
डेरा लिएको एक कोठे झुप्रो घरमा चार बालबालिकासहित बुवा र छोरी बस्छन् । कोठा अगाडि ठूला–ठूला बोरोका थैलो राखिएका छन् । त्यसैमाथि निन्याउरो अनुहार लगाएर चारै जना नाती नातिनीहरू बसेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेपछि गत वैशख २५ गते रातिदेखि सप्तरीमा निषेधाज्ञा जारी छ । औषधिलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरू ठप्प छन् । सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प छ । सवारीसाधन बन्द रहेकाले वायु र ध्वनी प्रदुषण हुन पाएको छैन । पसलहरू बन्द रहेकाले सडक फोहोर भएको छैन् । बजार सुनसान रहँदा इस्लामको रित्तो थैलो पनि कवाडीले भरिन पाएको छैन । रित्तो थैलो नभरिएकाले उहाँको परिवारको पेट पनि खाली रहन थालेको छ ।
सरकारले नागरिकलाई घर बाहिर नआउन गरेको आग्रह अटेर गर्दै इस्लाम साँझ विहानका लागि खानाको जोहो गर्न अहिले पनि बजार निक्लन खोज्छन्। ‘सरकारको आग्रह त मान्नुपर्ने हो तर के गर्नु सरकारको आग्रहले भोको पेट भरिदैन्’ उनले नाती, नातिनीतर्फ पुलुक्क हेरेर भने ।
नियम नमान्ने माथि प्रहरीले डण्डा वर्साउने र जरिवाना तिराउने गरेको सुनेका इस्लामले भने, ‘‘यो कवाडी उठाउने मान्छे हो भनेर होकी ? प्रहरीले जरिवाना तिराउने र डण्डा वर्साउने काम गरेको छैन ।’’ बजार निक्लिदा कुनै ठाउँमा प्रहरीले हप्काएपछि भने उनी डेरा फर्कन्छन् । भित्री बस्ती र टोल छेउ–छाउका गल्ली–गल्ली भने डुल्न त्यति समस्या छैन । इस्लाम भन्छन्– ‘‘बजारमा पसलले फ्याँक्ने गरेको प्लाष्टिक र कार्टुनले एक दिनमै थैलो भरिन्थ्यो, अहिले त चार दिन खोजे पनि थैलो भरिदैन ।’
निषेधाज्ञापछि कवाडी संकलन गर्न मात्र होइन कवाडी किन्ने पसलसम्म पुर्याउन पनि समस्या छ । आर्थिक वर्षमा सरकारले कस्तो बजेट ल्यायो भनेर इस्लाम परिवारलाई कुनै चासो छैन । इस्लामलाई त मात्र चासो छ, कवाडी बोक्ने थैलो बोकेर कहिले बजार जान पाइन्छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया