कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जन्माइन् बच्चा

लोकपथ
126
Shares
????????????????????????????????????

काठमाडौं । बैतडी जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका—४ की २१ वर्षीया महिलाले शनिवार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । शुक्रवार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको हो ।

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ । अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताए । बैतडीमा हाल ६०० बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?