डा. महतको प्रतिकृया : ‘सरकारले प्रचारात्मक शैलीमा चुनावी टार्गेट गरेर बजेट ल्यायो’

लोकपथ
287
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले प्रचारात्मक शैलीमा बजेट ल्याएको आरोप लगाएका छन् ।

वर्तमानको अल्पमतको सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर बजेट ल्याएको बचाउँदै पूर्व अर्थमन्त्री डा. महतले त्यसलाई कार्यान्वयन भन्दापनि चुनावी टार्गेटमा सरकार रहेको आरोप लगाए ।

लोकपथसँग कुराकानी गर्दै डा. महतले भने- ‘यो विधिको खिलापमा बजेट पेश भएको हो । यो काम चलाउ सरकारले अध्यादेशबाट यसरी बजेट घोषणा गर्ने हुँदै होइन । जेठ १५ गते बजेट प्रस्तुत गर्ने भनेको त सदनमा हो । त्यो पनि बहुमतको विश्वासको मत प्राप्त गरेको सरकारले हो । वर्तमान सरकार बहुमतको पनि नभएको र विश्वासको मत पनि प्राप्त नगरेको कारणले गर्दा यो सरकारलाई त्यो अधिकार नै छैन ।’ उनले भने- ‘सरकारको अहिलेको उदेश्यचाँही के हो भने सबै वर्गलाई खुसी पार्ने, विभिन्न सुविधाहरु दिने काम गरेको छ । राज्यको आर्थिक क्षमता पनि बढ्नुपर्ने बेला छ । कार्यान्वयन गर्ने भन्दा पनि सबै वर्गलाई खुसी पार्ने प्रचारात्मक तरिकाले मलाई चुनावमा फाइदा हुन्छ भन्ने हिसावले सरकारले बजेट ल्याएको हो।’

त्यस्तै संसद पुनःस्थापना नभएको अवस्थामा सरकारले आर्थिक वर्षको अन्त्यमा काम चलाउ बजेट ल्याउन पर्नेमा पूर्ण बजेट ल्याउनु त्रुटिपूर्ण रहेको स्पष्ट पारेका छन् ।

‘यो सरकारले बजेट ल्याउनै परेपनि आर्थिक वर्षको अन्त्यतिर ल्याउन सक्थ्यो । त्यो पनि संसदको पुनःस्थापना नभएमा मात्रै सरकारले काम चलाउ किसिमको बजेट ल्याउन सक्थ्यो । त्यसको विपरित सरकारले यति ठूलो दायराको बजेट प्रस्तुत गरेको छ । जून उसको अधिकार क्षेत्रभित्र पर्दैपर्दैन ।’ डा. महतले भने ।

शुक्रवार ४ पूर्व प्रधान्यायाधीशहरुले समेत पूर्ण बजेट नल्याउनका लागि आग्रह गर्दा समेत त्यसमा सरकारले ध्यान नदिएको डा. महतको आरोप रहेको छ ।

‘यसले विधिको शासनलाई नै उपहास गरेको छ । यो कुरा अस्ति ४ जना पूर्व प्रधानन्यायाधीशहरुले पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।’ उनले भने- ‘उहाँहरुले भनेझै काम चलाउ सरकारले पूर्ण बजेट ल्याएमा विधिको शासनमा नै उपहास हुनेकुरा भयो ।’

जेठ ८ गते संसद विघटन भएसँगै सरकारले आज अध्यादेश मार्फत बजेट ल्याएको छ । कोरोना कहरकाबीच सरकारले १६ खर्ब ४३ अर्ब ५७ करोडको कुल बजेट सार्वजनिक गरेको छ । संसद नभएका बेला सरकारले पूर्ण बजेट ल्याएको भन्दै आर्थिक क्षेत्रका विज्ञहरुले प्रतिकृया जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?