काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ‘युवा तथा खेलकुद मन्त्रालय’लाई २ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।
यस आर्थिक वर्षको बजेट गत वर्षको भन्दा ३८ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले खेलकुदलाई छुट्याइएको नयाँ बजेट बारे जानकारी दिएका छन्। उनले झापाको दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने कुराको जानकारी दिए। ‘मदन भण्डारी रंगशाला’ नामक नयाँ रंगशाला, खेलकुद सम्बन्धी यस वर्षको बजेटको ‘हाईलाइट’ रह्यो।
यस्तै सरकारले देशका विभिन्न ६ स्थानमा क्रिकेट रंगशाला निर्माणका लागि पनि रकम विनियोजन गरेको छ। मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगर गरी जम्मा ६ स्थानमा क्रिकेट रंगशाला निर्माण गरिने भएको छ।
अर्थमन्त्री पौडेलले पोखरा रंगशालाको निर्माणकार्य यसै वर्ष सम्पन्न गरिसक्ने अठोट व्यक्त गरे। त्यस्तै धनगढी, इटहरी, वीरेन्द्रनगर, वीरगन्ज, जनकपुरमा प्रादेशिक रंगशालाको निर्माणकार्य शुरु गरिने जानकारी उनले दिए। पौडेलका अनुसार यस आर्थिक वर्षमा जम्मा १६८ स्थानीय तहमा खेलग्राम स्थापना गरिने भएको छ।
उनले सन्यास लिइसकेका खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको ऋण प्रदान गरिने जानकारी पनि दिए। अझै सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङ जस्ता भौतिक रूपमा विकट स्थानमा पनि स्पोर्ट्स भवन निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी पौडेलले दिए।
यस्तै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता अझै वृद्धि गर्न अन्तर्राष्ट्रिय खेल विश्वविद्यालय निर्माणका लागि अध्ययन गरिने दृढता पौडेलको थियो। सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्ने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने जानकारी पनि बजेट भाषणद्वारा व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया