प्रतिशोधी भावना र अहंकारी सोच गणतन्त्रवादी संस्कार हुन सक्दैन : प्रचण्ड

लोकपथ
56
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले अहिले विरोधीहरुबाट गणतन्त्रका मूल्य–मान्यतामाथि प्रहार भइरहेको भन्दै प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताए । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने प्रचण्डको भनाई छ । उनले संघर्षहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

‘अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ ।’ प्रचण्डले भने, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’

प्रचण्डले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न पनि अपिल गरे । उनले अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले संविधान र लोकतन्त्र विरोधी तत्वहरुका विरुद्ध एकतावद्ध संघर्षका अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?