भेरी अस्पताल घटना : संलग्नलाई कारबाही गर्न सिडियोलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरुमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन् ।

महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराधिक’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए । उनले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही शुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए । घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए ।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीवार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?