काठमाडौं। म्यानचेस्टर युनाइटेडका गोलरक्षक डिन हेन्डर्सन गए रातिको युरोपा लिग फाइनल खेल्न नपाउँदा प्रशिक्षक ओले गन सोलसाईसँग आक्रोशित भएका छन्।
म्यानचेस्टर युनाइटेडले पछिल्ला केही खेलहरूमा आफ्नो गोलरक्षक परिवर्तन गरिरहेको हुँदा भिल्लारियलविरुद्धको फाइनल खेलमा डाविड डेहियालाई आफ्नो नम्बर १ को रोजाईमा राखेको थियो।
उता गत आईतवार इंग्लिश प्रिमियर लिगको अन्तिम खेलमा युनाइटेडको पहिलो रोजाईमा परेका हेन्डर्सनलाई फाइनल खेलमा मौका दिइएन।

युरोपा लिगको क्वार्टर फाइनल खेलदेखि नै डेहियालाई गोलरक्षक चुनिएको थियो। उनको फाइनल खेलको प्रदर्शनलाई खासै निन्दा गर्न मिल्दैन तर डेहिया पेनाल्टी बचाउने गोलरक्षकको नाममा चर्चित भने कहिल्यै पनि थिएनन्।
उनले भिल्लारियलविरुद्धको फाइनल खेलमा पनि प्रतिद्वन्दीको ११ पेनाल्टीमा कुनै पनि गोल बचाउन सकेनन् र अन्तिममा आफैले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन नसक्दा युनाइटेडले फाइनलमा हार बेहोर्न पुग्यो।

हेन्डर्सनले आफूमाथि डेहिया पहिलो रोजाईमा परेको थाहा पाउँदा उनी प्रशिक्षकसँग आक्रोशित भएको कुरा सार्वजनिक भएको छ। इङ्ल्यान्डसँग ‘युरो कप २०२०’ खेल्ने लगभग पक्का भएको हुँदा हेन्डर्सन युनाइटेडको पहिलो रोजाईको गोलरक्षक बन्ने अपेक्षा गर्छन्।
उता सन् २०११ देखि युनाइटेडसँग वफादार रहेका डेहिया पनि प्रशिक्षकबाट त्यही नै अपेक्षा राख्छन्।

आउँदो सिजन युनाइटेडले यसको समाधान कसरी निकाल्छ भन्ने कुरा निकै ठूलो जिज्ञासाको विषय बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया