महामारी न्यूनिकरणमा एकाकार भएर लाग्न प्रेरित गर्नु संचार जगतको दायित्व हो : अध्यक्ष पोखरेल

लोकपथ
14
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना संक्रमणको यो चुनौतीपूर्ण अवस्थामा नागरिकको ज्यान बचाउन समेत सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीवार (आज) नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिले आयोजना गरेको बर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पालना र संचारकर्मीको भुमिका बिषयक भर्चुअल अन्तरक्रियामा बोल्दै अध्यक्ष पोखरेलले त्यस्तो बताएका हुन् ।

अध्यक्ष पोखरेलले कोरोना संक्रमणको चुनौतीपूर्ण समयमा सबैलाई यसका विरुद्ध एकाकार हुन प्रेरित गर्नु र सबैको ऐक्यबद्ध प्रयासको बलमा नागरिकको जीवन सुरक्षामा योगदान पुग्ने गरी क्रियाशिल रहेका संचारकर्मीहरुको प्रमुख दायित्व भएको धारणा व्यक्त गरेका हुन् ।

समयको संवेदनशीलतालाई ध्यानमा राखेर सकारात्मक सन्देश प्रवाह गर्ने र जनस्वास्थ्यका बिषयमा राज्यका निकायहरुको निरन्तर ध्यानाकर्षण गराउने काम समेत संचारकर्मीको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै पत्रकार आचारसंहितको पूर्ण कार्यान्वयनबाट महासंघप्रतिको नागरिकको बिश्वास निरन्तर कायम रहने बताउँदै सकारात्मक समाचारको संप्रेषणले नागरिकको मनोबल उच्च भई संक्रमणको प्रतिरोध गर्ने क्षमता अभिबृद्धी हुने तथ्यलाई मनन गर्न समेत आग्रह गरे ।

त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भए गरेका प्रयासहरुका बारेमा आम नागरिकलाई जानकार बनाउँदै पत्रकार आचारसंहितको पूर्ण पालनाका साथ स्वास्थ्य सुरक्षा सावधानीका साथ क्रियाशिल रहनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?