‘खोई नयाँ वर्षको पार्टीबाट सर्यो कि ?’
७ दिन भेन्टिलेटर, ५ दिन आईसियू र बाँकी दिन वार्डमै बिताएपछि केहि तंग्रिएर घर फर्केकी प्रविना रावल पन्त (३७) लोकपथसँगको कुराकानीमा आफूलाई संक्रमण कहाँबाट भयो भनेर ठम्याउन खोज्छिन् ।
कोरोनाले सिंगो देश आक्रान्त भएको खबर सुनेर , अक्सिजन, बेड पाईन छाडेकोबारे उनि बेखबर थिईनन् । तर नयाँ वर्षको जमघटमा सहभागि भएको भोलिपल्ट उनलाई केहि थकान महशुस भयो । हातगोडा गलेको जस्तो, सामान्य अवस्थामा भन्दा श्वास फेर्न असहज भए जस्तो लाग्यो । कामको सिलसिलामा भैरहवा रहेका श्रीमान्लाई उनले खबर गरिन् । दुई छोरीहरुलाई संक्रमण फैलन सक्ने डर र कोरोनाको दोस्रो लहरका कारण बालबालिकालाई हुनसक्ने खतरा जानेर उनले पहिल्यै मामा घर पठाई सकेकी थिईन् । श्रीमान् आउने प्रतिक्षामा उनी काठमाडौं चन्द्रागिरी नगरपालिका ६ स्थित महादेवस्थानमा रहेको आफ्नै घरमा सुस्ताईन् । श्रीमतीको आपतकालिन बोलावट पछि कामको सिलसिलामा भैरहवा रहेका उनका श्रीमान् धिरेन्द्र पन्त (४५) काठमाडौं हान्नीए । कोरोनाको महामारी, यसले निम्त्याएको भयावह, सरकारको लाचारीपन, भाइरसको प्रकृति जानेका उनी निकै हतासमा काठमाडौं आउँदा अघिपछि निर्भिक र आत्मविश्वासले भरिएकी श्रीमति निकै थकित अवस्थामा देखे । त्यतिमात्रै होईन मिनेट मिनेटमा अक्सिमिटरको डिजिटल डिस्प्लेमा घटीरहेको अक्सीजनको लेभलले उनलाई झनै अत्यायो । श्रीमतिको आत्मविश्वास बढाउदैं, आफ्नो मन दरो बनाउदैन अस्पतालमा भ्यान्टिलेटर सहितको बेड खोज्न भौतारिँदा उनले भोगेको दुख सानो छैन ।
भेन्टिलेटर लगाउदा आफ्नै शरीरवाट निस्किएको घ्यार.. घ्यार……
***
नर्सहरुको दौडाईको चाल, कोरोना भाइरससँग जुधेर बाँच्नका लागि गरिरहेको संघर्ष, आईसियूको छेउछाउका बेडमा देखिएका जीवन मरणसँगको लडाईँ । उनले देखेको यो चित्र कुनै रणभूमि भन्दा फरक थिएन ।
आफ्नै शरीरमा भएको असजिलोपन, कोपिला समानका दुई छोरीहरु र श्रीमान्लाई छातिमा टाँसेर रुने उत्कट ईच्छा थियो । बाँच्ने आशामा अस्पतालको बसाई, आफुजस्तै संक्रमित भएर साथैको बेडमा आएकाको मृत्युवरणले अस्पतालको बसाई नै पिडादायि बन्दै गएको थियो । यस्तो भयावह, कहालिलाग्दो क्षणमा कृत्रिम अक्सिजनको साहारावाट मृत्युसंग २४ सैं घन्टा संघर्ष गरिरहदा पनि उनको मुखवाट एउटै आवाज आईरहन्थ्यो । राधे… राधे… राधे…
***
भनिन्छ, संसारभर भगवान् एउटा छन् । तिनका नाम फरक भएकै कारण आस्था माथि रडाँको मच्चिरहेको छ । प्रविनालाई थाहा थियो, कोरोनालाई जित्नका लागि ठुलो आत्मविश्वास चाहिन्छ । झिनो आत्मविश्वास राखेमा त कोरोनाले नै लैजान्छ । उनलाई कोभिड भए देखिनु नै एउटा कुरा के लाग्थ्यो भने कोरोना लागेर मर्नु नै हुन्न ।
हामीले आँखा तन्काउदै जिज्ञासा राख्यौँ । अनि ? उनले तत्काल जवाफ दिईन्, मैले आत्मविश्वास र भगवान्प्रतिको आस्था र भरोसा यति दरीलो बनाएकी मलाई भेन्टिलेटरमा बस्दा पनि म बाँच्नुपर्छ भन्ने लागिरह्यो ।
कुराकानीका क्रममा उनका श्रीमान् धिरेन्द्रले आफ्ना भोगाई सुनाउँदा थाहा भयो कति हदसम्मको आत्मविश्वासले प्रविनाले कोरोना जितिन् होला भनेर । किनकी, धिरेन्द्र सुनाउँछन्, डाक्टरले नै भगवान् भरोसा भनिदिएका थिए ।
जीवनमा कहिल्यै नभोगेको अत्यन्तै पिडादायी भोगाई प्रविनालाई कोरोनाले सिकाईदियो । उदेगलाग्दो पाठजस्तो लागेको छ उनलाई । शरीर अझैपनि गलेको छ उनको । घरमा नै स्वास्थ्यलाभ गरिरहेकी प्रविनाले आफूले भोगेका कुराबाट हाल घरमा वा संस्थागत आईसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेकाका लागि केहि उपाय पनि सुझाईन् ।
कुराकानीको बिट मार्नै लाग्दा उनले नेतृत्वसँग औधि चित्त दुखेको सुनाईन् । उनले हात जोडेर नेतृत्वलाई बिन्ती गर्दै भनिन्, कृपया जनताको जीवनसँग राजनीति नगरिदिनुहोस् । खेलबाड गरिदिनुहोस् । एक व्यक्ति तपाईको एक मतदाता मात्रै हो, तर उसको परिवारको लागि उ सिंगो संसार हो ।
कोरोनाको दोस्रो लहरले निम्त्याएको भयावह परिस्थिती अझै सहज बनेको छैन । कृपया स्वास्थ मापदण्ड, नियमको पूर्ण पालना, साबुनपानीले निरन्तर हात धुने, सेनिटाईज गर्ने, भिडभाडमा नजाने, भौतिक दूरी कायम राख्ने, शारिरीक अभ्यासलाई निरन्तरता दिने गरौँ ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया