कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

RSS
77
Shares

चितवन । कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।

अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।

भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो सङ्ख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासीलगायतका जिल्लाका सामान्य गर्भवतीहरूस्थानीयस्तरमै सुत्केरी हुने गरेकाले केही सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउनुहुन्छ । उहाँको भनाइमा सुत्केरी गराउनु पर्नेमध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नुपर्छ ।

भरतपुर अस्पतालमा यतिबेला पूर्ववत् अवस्थामा उच्च सावधानीका साथ सेवा दिइएको उहाँको भनाइ छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक चिकित्सक र दुई नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ चिकित्सक र १८ नर्सले यो सेवा दिइरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराइएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आइसोलेश्नमा रहेको पोखरेलको भनाइ छ ।

सोही अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा दिइरहेको बताउछन् । मास्क, टोपी, फेससील्ड, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उनको भनाइ छ । आवश्यकतानुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसूति सेवा दिइँदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरकफरक ठाउँबाट दिइएको छ । अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउछन् ।

चितवन मेडिकल कलेजमा प्रसूति विभाग हेर्दै आएकी डा सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसूति सेवा लिने गरेका छन् । अन्य समयमा यो सङ्ख्या पाँच देखि १० हुने गरेको उहाँको भनाइ छ । वैशाखयता सङ्क्रमण भएका चार जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढङ्गबाट प्रसूति गराइएको उनले जानकारी दिइन् ।

सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिइरहेको श्रेष्ठ बताउछिन् । बहिरङ र प्रसूति दुवै सेवा सुरक्षित ढङ्गबाट दिइएको उनको भनाइ छ ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहनुभएका चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईं सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिइरहेको बताउछन् । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढङ्गबाट अस्पतालमा सेवा दिने गरेको उनको भनाइ छ । नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा सेढाईंले अन्य बिरामी जस्तो पछि उपचार गरौँला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिइरहेको जानकारी दिए ।

पहिले प्रसूति सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढङ्गबाट सेवा दिइरहेका छन् । राजधानी काठमाडौँपछि सबैभन्दा धेरै प्रसूति सेवा दिने भरतपुर हो । यहाँ चितवनसहित छिमेकी धेरै जिल्लाबाट प्रसूतिका लागि आउने गर्दछन् । यहाँका अस्पतालमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ ।

निषेधाज्ञा जेठ २० सम्म

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो र दोस्रो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निश्कर्षसहित थप एक साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कन तथा हिँडडुल नगर्न, अत्यावश्यक काममा हिँड्नु पर्ने भएमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस, सेन्टर, जिमखाना, स्पा, स्विमिङपुल, ब्युटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसल जस्ता बन्द रहने लामिछानेद्वारा जारी आदेशमा उल्लेख छ ।

यस्तै होटल तथा रेष्टुरेन्टबाट टेक अवे बाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायतका सबै शैक्षिक संस्थाहरुमा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायतका शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायतका संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन नगर्न, घरमा सञ्चालन हुने यस्ता कार्यमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ ।

आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन सबैलाई आग्रह गरिएको छ । यस्तै आदेशमा तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मका लागि समय तोकिएको छ । औषधि, पेट्रोलपम्प, दूध डेरी, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । उक्त आदेशको पालना नगरे सङ्क्रमण रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?