डिसेम्बरसम्ममा ६० करोड नागरिकलाई दुवै डोजको खोप लगाइसक्ने भारतको दावी

RSS
42
Shares

नयाँ दिल्ली । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दावी गरिएको छ ।

भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दावी गरेका छन्। ।

उनले भने, “भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।”

वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने “हब”समेतको संज्ञा दिएका छन् ।

भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उनको भनाइ थियो ।

सामान्यतया हरेक व्यक्तिले छ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उनले जानकारी दिए ।

झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा त्रेहानले विश्वास व्यक्त गरे।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने व्यक्तिको सङ्ख्या बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?