सगरमाथाको आधार शिविरमा ‘स्ट्याण्ड-अप कमेडी’ गरेर नेपाली कलाकारको नयाँ रेकर्ड, तोडियो पाउलोको कीर्तिमान

काठमाडौं । विश्वकै उच्च शिखर सगरमाथाको आधारशिविर कालापत्थरमा स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

नेपाली युवाहरुमाझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले कालापत्थरको ५ हजार ३०२ मिटर उचाईँमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमान कायम गरेका हुन् ।

उनीहरुले ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएका थिए ।

उनीहरुले यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले कायम गरेको रेकर्ड समेत तोडेका छन् । पाउलोले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविरको ५ हजार २७० मिटरको उचाईँमा स्ट्याण्ड–अप कमेडीको प्रस्तुती दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।

आफ्नो रेकर्ड तोडिएको जानकारी पाएका पाउलोले इटालीबाटै एउटा भिडियो सन्देश पठाएर नेपग्याजम समूहलाई शुभकामना दिएका थिए । उनले इटलीको “रेडियो किस किस“ मा कार्यक्रम प्रस्तुत गर्दै आएका छन् ।

पाउलोको भिडियो सन्देशः

यस स्वास्थ्य संकटका क्षणमा कलाकार गौतम र त्रितालको यो कदमले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा गिनिज बुक अफ वर्लड रेकर्डले आफ्नो आधिकारीक वेबसाइटमा उल्लेख गरेको छ ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरेका थिए ।

नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले आफूहरुको यस कदमले विश्व रेकर्ड कायम हुनु नेपालकै लागि गौरवको कुरा भएको बताए । यो नेपाली हास्य व्यङ्य विधालाई माया गर्ने तथा यसमै लागिपरेकाहरुका लागि एउटा सम्मान हो ।

नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले कोरोना महामारीका बीच नेपालीलाई खुशी दिलाउने हाम्रो यो प्रयास सफल भएको प्रतिक्रिया दिए ।

“सारा विश्वले हाम्रो यो प्रयासलाई अवश्य पनि नजिकबाट नियालीरहेको हुनुपर्छ, नेपग्याजमको यो उपलब्धी हामी समर्पण गर्न चाहन्छौं, ति तमाम हास्य कलाकारहरुले जसले न्यूनतम श्रोत साधनमा समेत मान्छेको मुहारमा हाँसोको फोहोरा निकाल्न छोड्नु भएन ।” मिश्रले भने । “अनेक चुनौति तथा वाधा अडचनकाबीच हामीलाई यस संकटको घडीमा आवश्यक प्रक्रियामा सहजीकरण गरी सहयोग गर्ने मिडिया, कर्मचारी, हाम्रो उडान सहयोगी सिम्रिक एयर तथा प्रयोजक, सह–प्रायोजकहरु प्रति आभारी छौं ।” नेपग्याजमका संस्थापक आशिष शाहीले भने ।

नेपग्याजमका अर्का संस्थापक रुपेश श्रेष्ठले सम्पूर्ण सब्सक्राइबर, दर्शक तथा श्रोताहरुको माया तथा हौसलाका कारण विश्व स्ट्याण्ड–अपको जगमा नेपाली स्ट्याण्ड–अप कमेडी चिनिने मौका पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?