कांग्रेसले भन्यो- ‘सरकारको अकर्मन्यताविरुद्ध सञ्चारमाध्यमबाट पनि खबरदारी गर्छौँ’

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।

बुधवार बिहान (आज) सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समिक्षा गरेको छ ।

आजको बैठकमा संसद विघटनविरुद्ध अहिले कोरोना महामारीका कारण सडकमा जाने अवस्था नरहेपनि सञ्चारमाध्यमबाट समेत त्यसको प्रतिवाद गरिरहने बताइएको छ ।

बैठकपछि लोकपथसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले कोरोना महामारीका बेला पनि सरकारको अकर्मन्यताको विरुद्ध सञ्चार माध्यमबाट समेत खबरदारी गर्ने बताए ।

‘अहिले देशमा सरकारको कारण राजनीतिक खिचातानी बढिरहेको छ । कोरोना महामारीका कारण सडकबाट त्यसको प्रतिवाद गर्न नसक्ने अवस्था छ । तर सञ्चारमाध्यमबाट भएपनि कांग्रेसले त्यसको प्रतिवाद निरन्तर गर्ने निष्कर्ष आजको बैठकले निकालेको छ ।’ डा. महतले लोकपथसँग भने ।

त्यस्तै नेपालमा कोरोना संक्रमणको पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएपनि सरकारले त्यसको अनुसरण नगरेको उनको भनाइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कांग्रेसले सरकारलाई यसअघि नै १५ बुँदे ध्यानाकर्षणपत्र बुझाइसेको तर सरकारले त्यसलाई वेवास्ता गरेको आरोप समेत उनले लगाएका छन् ।

‘कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार यसकारण चुक्यो कि । कांग्रेसले यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएपनि सरकारले त्यसको पूर्णरुपमा वेवास्ता गर्यो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?