काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उभौलीका शुभअवसरमा स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
“जातीय, भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन टेवा पुर्याउने विश्वास लिएको छु ”, सन्देशमा भनिएको छ ।
उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छिन् ।
जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाखेपूर्णेको दिन उभौली पर्व मनाउँछन् । यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौंँ उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया