कोरोना कहरकाबिच मध्यपहाडी लोकमार्ग कालोपत्रे शुरु

RSS
91
Shares

गलकोट । लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ ।

अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञाका बीच सडक कालोपत्रे गर्न शुरु भएको छ । अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको र घोडाबाधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे हुन थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड र मौजुदा कामदारको सहयोगमा कालोपत्रे शुरु भएको हो । लोकमार्ग कार्यालयको ताकेता पछि निर्माण सम्झौता भएको पाँच वर्ष पछि उक्त सडक कालोपत्रे गर्न शुरु भएको हो ।

अहिले बागलुङ बजारको उपल्लाचौरदेखि अछेतेसम्म धमाधम वेस विछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ भने बिहु घोडाबाँधेबाट कालोपत्रेको काम शुरु भएको छ । मध्यपहाडीको उपल्लो खण्डको रुपमा रहेको घोडाबाँधेमा ६ किलोमिटर सडक ग्राभेल भई सोमबारदेखि कालोपत्रे गर्न थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इञ्जिनियर उज्वल शर्माले जानकारी दिए । “ असार सम्म लोकमार्गको केही प्रगती देखिने निश्चित भयो, अहिले काम नगरी निर्माण व्यवसायीलाई सुखै छैन, अहिले निकै प्रतिक्षा गरेको बिहुँ खण्डमा कालोपत्रे हुने कुरा सुखद् हो”, शर्माले भने, “पटक–पटक आयोजनाको ताकेता पछि अहिले लोकमार्ग कालोपत्रे शुरु भएको छ, तल्लो सदरमुकाम खण्डमा समेत धमाधम काम भइरहेको छ ।”

अहिले सदरमुकाम खण्ड र बिहुँ खण्डको दुबै क्रसर धमाधम चलिरहेका कारण आगमी केही महिनामा दुबै खण्डको २५ किलोमिटर सडक कालोपत्रे सकिनेमा यहाँका जनता आशावादी भएका छन् । सदरमुकाम खण्डको १३ किलोमिटर सडकमा कालोपत्रेको कामका लागि बेस हाल्ने काम भइरहेको सदरमुकाम खण्ड निर्माणको जिम्मा पाएको भरत सिद्धिसाहीका प्रतिनिधि नवराज रावलले जानकारी दिए । तत्काल बागलुङ बजार देखि अछेतेसम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । निर्माण कम्पनीले १७ किलोमिटर सडक कालोपत्रे गरेमा अन्य बाँकी रहेको ८ किलोमिटर सडक असार सम्म कालोपत्रेका लागि काम गर्ने संभावना देखिएको छ ।

बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन । तर बिहुँ घोडाबाधे खण्डमा कोरोना कहर र निषेधाज्ञाकै बीचमा कालोपत्रे शुरुले हर्षित भएको स्थानीय खिमानन्द कँडेलले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तिब्रता पाएपछि अहिले बिहुँमा कालोपत्रे गर्न थालिएको हो । निर्माण व्यवसायीलाई काम गर्न दिएको असार मसान्त अन्तिम पटक भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले बताए । कुल १७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?