सुदूरपश्चिममा माधव पक्षमै फरक मत : अझै बस्न सकेन एमाले संसदीय दलको बैठक

लोकपथ
336
Shares

टेकसिंह धामी-धनगढी। माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि आज बस्ने भनिएको एमाले संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

मंगलवार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलको लागि बोलाएका थिए ।

८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेरै बाहिरिए । उनीहरूले तयारी गरेर एमालेका जम्मै २५ जना नै उपस्थित हुने गरी दलको बैठक बस्न आग्रह गरेका थिए ।

संसदीय दलका नेता शाहले मंगलवार बिहान आफ्नो पक्षका मात्रै सांसदलाई बैठकमा बोलाएका थिए। दलको नेतालाई ओली पक्षका सांसदहरूलाई पनि बोलाउन दबाब आएपछि अहिले सम्म दलको बैठक बस्न नसकेको हो ।

‘हामीलाई बिहान ८ बजे दलको कार्यालयमा उपस्थित हुन भनेर दलको नेताले बेलाउनुभयो । उहाँ नै आउनु भएन’ एक सांसदले भने, ‘अहिले सम्म फेरि बस्ने टुंगो छैन । ’

उनका अनुसार मंगलवार बिहान ८ बजे पछि दलको कार्यालयमा १० जना सांसद उपस्थित भएका थिए । दलको नेता र प्रमुख सचेतक नै नआएपछि उनीहरुले अनौपचारिक छलफल गरेर फर्किएका थिए ।

सोमवार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

एउटै पक्षभित्र पनि मतभेद देखिएपछि ८ बजे स्थगित भएको बैठक अझै आह्वान गरिएको छैन । प्रमुख सचेतक तारालामा तामासँगको सल्लाहपछि साढे १२ बजेपछि बैठक आह्वान हुनसक्ने बताइएको थियो । तर, त्यो समयमा पनि बैठक बस्न सकेन ।

२४ घण्टाभित्रै सरकारबाट फिर्ता हुन आएको निर्देशन र समर्थन फिर्ताका विषयमा छलफल गर्नुपर्ने हुँदा दलको बैठक मंगलबार नै राख्न दबाब छ ।

दलको नेता अहिले प्रमुख सचेतक तारा लामा तामाङसँग प्रमुख सचेतक कै कार्यकक्षमा छन् । तामाङको कार्यकक्षमा एमालेका नेपाल पक्षीय सांसद कुलवीर चौधरी, अमर साउद, प्रकाश रावल, दीर्घ सोडारीले दलको नेतालाई कुरिरहेका थिए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने केहीबेर संवाद गरेर अहिले निस्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?