बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा

RSS
91
Shares

बागलुङ । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ ।

नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रूपमा शुरू हुन थालेको नगर स्वास्थ्य शाखाले बताएको छ । जटिल प्रकारका समस्या गाउँकै स्वास्थ्यचौकीबाट समाधान गरिनेछ । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् । यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ । नगरपालिका, एनआरएन यूके र अन्तरराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाको रूपमा यो कार्यक्रम शुरू हुन लागेको हो ।

कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौं तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकोमा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए ।

नगरपालिकामा स्वास्थ्य पहुँच बढाउन टेलिमेडिसिन कार्यक्रम ल्याउन सहजीकरण गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । एनआरएनए अन्तरराष्ट्रिय समितिका महासचिव एवं अन्तरराष्ट्रिय बागलुङ समाजका सल्लाहकार डा. हेमराज शर्मा तथा चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा सो नगरपालिकामा नमूनाको रूपमा कार्यक्रम सञ्चालनमा आउनेछ । यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाडलगायतमा समेत शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?