काठमाडौं। २०२०/२१ सिजनको इंग्लिश प्रिमियर लिग आज (आईतवार) सकिँदै छ। म्यानचेस्टर सिटी विजेता भइसकेको प्रिमियर लिगमा दोस्रो स्थान म्यानचेष्टर युनाइटेडले पक्का गरिसकेको छ।
‘शीर्ष ४’ स्थानमा अन्तिम दुई स्थानका लागि आज ३ टोली प्रतिस्पर्धा गर्दै छन्। तेस्रो स्थानमा रहेको चेल्सी एस्टन भिल्लाको मैदानमा आफ्नो अन्तिम खेल खेल्दै छ भने हाल चौथौं स्थानमा रहेको लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्दैछ। त्यस्तै ‘शीर्ष ४’ को लागि पाँचौं स्थानमा रहेको लेस्टर सिटीले घरेलु मैदानमा टोटनह्याम हटस्परको सामना गर्दैछ।

निकै नै रोमाञ्चक स्थितिमा पुगेको ‘शीर्ष ४’ को दौडसँगै प्रिमियर लिगमा आज तल उल्लेखित १० कुराहरूको पनि अपेक्षा गरिएको छ।
१) टोटनह्यामलाई सातौं स्थानको चुनौती, लेस्टरलाई हराउने केनको चाहना

टोटनह्याम र लेस्टरबिचको खेल ह्यारी केनको लागि क्लबको अन्तिम खेल हुन सक्ने सम्भावना बलियो देखिन्छ। भावनात्मक रूपमा टोटनह्यामले केनको लागि गहिरो स्थान बनाए पनि व्यवसायिक फुटबलमा माथिल्लो तहमा खेल्ने चाहना केनको छ। र सोही कारण टोटनह्याम लिगको सातौं स्थानको लागि संघर्ष गर्दा केनको लागि यो अन्तिम खेल हुन सक्छ। पछिल्ला ९ ‘अवे’ खेलमा मात्र २ जित निकालेको टोटनह्याम लेस्टरविरुद्ध जितको उद्देश्य लिएर मैदानमा उत्रने छ, र ह्यारी केन आफ्नो टोटनह्याम करियर शुखद रूपमा अन्त्य गर्न चाहन्छन्। लेस्टर सिटीको शीर्ष ४ स्थानको भविष्य केनको खेलमा निर्भर रहेको देखिन्छ।
लेस्टर सिटीविरुद्ध टोटनह्याम हटस्पर
२) अगुवेरोको एतिहादमा अन्तिम खेल

म्यानचेस्टर सिटीका लेजेण्ड सर्जियो अगुवेरोको आज प्रिमियर लिगमा अन्तिम खेल रहेको छ। अर्को सिजन युरोपियन फुटबल ताकिरहेको एभरटनविरुद्ध आज अगुवेरोले एतिहाद मैदानमा अन्तिम प्रिमियर लिग खेल्ने छन्। करिब १० वर्ष र २५८ प्रिमियर लिग गोल पश्चात अगुवेरोको विदाई १०,००० घरेलु समर्थकमाझ भव्य रूपमा हुने अपेक्षा गरिएको छ।
म्यानचेस्टर सिटीविरुद्ध एभरटन
३) इन्जुरी बोकेका कान्टेलाई चेल्सीले खेलाउने कि नखेलाउने

पाँच दिन अघि लेस्टर सिटीविरुद्धको खेलमा ह्यामस्ट्रिङ् इन्जुरीका कारण मैदान छाडेका एँगोलो कान्टे एस्टन भिल्लाविरुद्ध खेल्ने कि नखेल्नेमा ठूलो प्रश्न चिन्ह रहेको छ। ‘शीर्ष ४’ को दाउमा रहेको चेल्सीलाई कान्टेको पुनरागमनले अवश्य बलियो बनाउँछ तर ‘मे २९’ तारिखमा च्याम्पियन्स लिग फाइनल खेल्न गइरहेको चेल्सीले आजको खेलमा आफ्नो महत्वपूर्ण खेलाडी कान्टेलाई खेलाउने कि नखेलाउने भन्ने बारे प्रशिक्षक थोमस टुचेलका लागि ठूलो टाउको दुखाई छ।
एस्टन भिल्लाविरुद्ध चेल्सी
४) आर्सनलको युरोपियन फुटबल खेल्ने सम्भावना

हाँसोको पात्र बनेको आर्सनलको यो सिजन खासै नराम्रो भने देखिंदैन। केही साता अगाडि निरिह देखिएको आर्सनलले अन्तिम दिनसम्म आउँदा अर्को सिजन युरोपियन फुटबल ताक्दै छ। आईतवार आर्सनलले ब्राइटनलाई पराजित गरेको खण्डमा आर्सनल ७औं स्थानमा उक्लिने छ र अर्को सिजनको युरोपियन कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नेछ। आफ्नो लगातार पाँचौं लिग खेल जित्ने उद्देश्यकासाथ आर्सनल मैदानमा उत्रने छ। मिकेल आर्टेटाको प्रशिक्षणमा रहेको आर्सनलको लागि सातौं स्थान ठूलो सफलता हुनेछ।
आर्सनलविरुद्ध ब्राइटन
५) लिभरपुलको शीर्ष ४ दौड रोक्न केही पुराना अनुहार तम्तयार

पछिल्ला ४ खेलहरूमा जित निकाल्दै पुनरागमन गरेको लिभरपुलले अन्तिम खेलमा क्रिस्टल प्यालेसको सामना गर्दैछ। १०,००० घरेलु समर्थक सामु लिभरपुललाई आजको खेल बेग्लै कारणले सजिलो भने देखिएको छैन। क्रिस्टल प्यालेस आजको खेलमा ‘अल म्यान डिफेन्डिङ’ गर्ने तयारीका साथ मैदानमा उत्रिने छ। लिभरपुलका पूर्व स्ट्राइकर क्रिस्टियन बेन्टेके प्यालेसका लागि ‘रेड हट फर्म’मा छन्। आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्नु उनको लागि रमाइलो अनुभूति हुनेछ। त्यस्तै प्यालेसका प्रशिक्षक रोय हडसनले आफ्नो कार्यकाल टुंग्याउने निर्णय गरिसकेका छन्। लिभरपुलका पूर्व म्यानेजर समेत रहिसकेका हडसन आफ्नो अन्तिम खेलमा प्यालेससँग जित चाख्न चाहन्छन। बेन्टेके र हडसनको जित लिभरपुलको लागि ठूलो हार हुनेछ।
लिभरपुलविरुद्ध क्रिस्टल प्यालेस
६) वेस्ट ह्यामको युरोपियन सपना

आफ्नो पछिल्लो खेलमा वेस्ट ब्रमविरुद्ध जित निकालेको वेस्ट ह्यामलाई आफ्नो अन्तिम खेलमा मात्र बराबरीको नतिजाको आवश्यकता छ। अर्को सिजन युरोपा लिग खेल्न वेस्ट ह्यामलाई साउथह्याम्पटनविरुद्ध १ अंक नै काफी रहेको छ। वेस्ट ह्यामले सोचे जस्तो नतिजा निकाल्न सकेको अवस्थामा उसले ६औं स्थान ओगट्ने छ।
वेस्ट ह्यामविरुद्ध साउथह्याम्पटन
७) न्युक्यासलसँग विलकको साझेदारी

अन्तिम दिनमा फुल्ह्यामविरुद्ध न्युक्यासल युनाइटेड खासै मान्यता राख्ने खेल होइन। रेलिगेसन पक्का गरिसकेको फुल्ह्यामसँग न्युक्यासल निश्चिन्त भएर आजको खेल खेल्नेछ। तर आर्सनलबाट लोनमा न्युक्यासल आएका जो विलक भने ७ खेलमा आफ्नो ७औं प्रिमियर लिग गोलका लागि मैदान प्रवेश गर्ने छन्। उत्कृष्ट फर्ममा रहेका विलकले अन्तिम दिनमा पनि राम्रो प्रदर्शन गरे भने अर्को सिजन उनले कता फुटबल खेल्छन् भन्ने कुरा रोमाञ्चक मोडमा पुग्नेछ।
फुल्ह्यामविरुद्ध न्युक्यासल युनाइटेड
८) म्यानचेष्टर युनाइटेडको रक्षापंक्ति बारे टाउको दुखाई

‘मे २६’ तारीख युरोपा लिगको फाइनल खेल खेल्न गइरहेको म्यानचेष्टर युनाइटेडको आफ्नै समस्या छन्। युनाइटेडका प्रशिक्षकको रूपमा आफ्नो पहिलो उपाधि जित्ने दाउमा रहेका ओलेको लागि प्रिमियर लिगको अन्तिम खेलमा आफ्नो रक्षापंक्ति छान्न सजिलो हुने छैन। क्लब कप्तान ह्यारी मग्वायर गत साता इन्जुरीका कारण टीमबाट बाहिरिए पछि युनाइटेडले लगातार लेस्टर र लिभरपुलसँग घरेलु मैदानमा पराजय भोग्यो। वुल्भसविरुद्ध आजको खेल युनाइटेडलाई खासै महत्वपूर्ण छैन। युरोपा लिग फाइनलका लागि ओलेले आफ्ना प्रमुख रक्षापंक्तिलाई आजको खेलमा आराम दिने जस्तो देखिन्छ। उता वुल्भसका प्रशिक्षक नुनो एस्पेरितो सान्तोको आज घरेलु मैदानमा अन्तिम खेल रहनेछ। यो सिजन पश्चात वुल्भसको प्रशिक्षण छाड्ने निर्णय गरेका नुनोले आफ्नो अन्तिम खेलमा जित निकाल्न सक्दो प्रयास गर्नेछन्।
वुल्भसविरुद्ध म्यानचेष्टर युनाइटेड
९) बर्नलीका प्रशिक्षक सन डाइचको भविष्य

पछिल्ला दिनमा बर्नलीका मुख्य प्रशिक्षक सन डाइचको भविष्य बारे धेरै प्रश्न उठेका छन्। रोय हडसनको स्थानमा क्रिस्टल प्यालेसको प्रशिक्षकको जिम्मेवारी डाइचलाई दिइने बारे पनि धेरै होहल्ला चलिरहेको अवस्था छ। बर्नलीसँग अझै १ वर्षको सम्झौता बाँकि रहेको डाइचलाई क्लबले ‘टर्फ मुर’मै राख्न चाहेको कुरा पनि अवगतै छ। सन डाइचको भविष्य कुन क्लबसँग जोडिएको छ निश्चित नरहेको हुँदा आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
शेफिल्ड युनाइटेडविरुद्ध बर्नली
१०) स्याम अलार्डाइसविरुद्ध मार्सेलो विएलसा

वेस्ट ब्रमका प्रशिक्षक स्याम अलार्डाइसको आज क्लबको लागि अन्तिम खेल हुन सक्ने सम्भावना देखिएको छ। रेलिगेसन पक्का गरिसकेको वेस्ट ब्रम र स्याम अलार्डाइसलाई गुमाउने कुरा केही नहुँदा लिड्सविरुद्ध आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। उता लिड्सका प्रशिक्षक मार्सेलो विएलसा भने उत्कृष्ट प्रशिक्षकमा मनोनित हुने सम्भावना बलियो बनाउन लिड्सलाई ८औं स्थानमा लिएर जान चाहन्छन्। यसै सिजन दोस्रो वरियता च्याम्पियनशिप फुटबलबाट प्रिमियर लिग चढेको लिड्सले पहिलो सिजनमै ८औं स्थान प्राप्त गर्ने उद्देश्य बोकेको छ।
लिड्स युनाइटेडविरुद्ध वेस्ट ब्रम
इंग्लिश प्रिमियर लिगका सबै खेलहरु आज नेपाली समय अनुसार राति ८:४५ बजे एकैसाथ शुरू हुँदै छन्।
(द गार्डियनबाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया