कोरोना संक्रमित र कुरुवालाई २० रुपैयाँमै पेटभर खाना

लोकपथ
231
Shares

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । शुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताए ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । यसैबीच बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी—वर्मा सहयोगी हात’ बाँकेद्वारा रसोई घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नुन २० पोका, सक्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताए ।

यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ । त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?