नुनो एसपेरितो सान्तो : ‘निस्सन्देह’ एक सफल व्यक्तित्व

काठमाडौं।  इंग्लिश क्लब वुलभरह्याम्प्टन वाण्डरर्स उर्फ वुलभ्सका मुख्य प्रशिक्षक नुनो एस्पेरितो सान्तोले क्लब छाड्ने निर्णय गरेका छन्।

यही आईतवार यस सिजनको अन्तिम खेल पश्चात उनले वुलभ्स छाड्ने भएका हुन्। म्यानचेष्टर युनाइटेडविरुद्ध उनी वुलभ्सका प्रशिक्षकको रूपमा अन्तिम पटक देखिने छन्। उनले वुलभ्समा ठूलो प्रभाव छाडेर गएका छन् भन्न गलत पक्कै हुँदैन।

वुलभ्समा नुनोको आगमन मानौं क्लबको लागि लामो समय पछि भएको राम्रो कुरा थियो। सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टो छाडेर वुलभ्स आएका नुनोले पहिलो सीजनमै वुलभ्ससँग च्याम्पियनशिप उपाधि जिते।

सन् २०१२ मा इंग्लिश फुटबलको पहिलो वरियता प्रिमियर लिगबाट रेलिगेट भएको वुलभ्स एकै वर्षको अन्तरालमा दोस्रो वरियताको च्याम्पियनशिपबाट पनि रेलिगेट भएको थियो। सन् २०१४ मा पुनः च्याम्पियनशिप फर्केको वुलभ्सका लागि प्रिमियर लिगसम्मको बाटो भने सजिलो रहेन। सन् २०१८ मा नुनोले वुलभ्सलाई ६ वर्ष पछि प्रिमियर लिगको बाटो डोर्याए, त्यो पनि आफ्नो पहिलो सिजनमै।

४७ वर्षीय पोर्चुगिज प्रशिक्षक नुनो वुलभ्ससँग पछिल्ला दुई सिजन ७औं स्थानमा रहन पुगे। वुलभ्सले नुनोको प्रशिक्षणमा नै युरोपियन फुटबलको स्वाद पनि चाख्यो।

फलस्वरूप गत सेप्टेम्बरमा उनले वुलभ्ससँग सम्झौता बढाए। सन् २०२३ सम्म उनले वुलभ्सको प्रशिक्षण गर्ने निर्णय गरे। “हामीले आफ्नो लक्ष्य पूरा गरेका छौं, हामीले यो जोशका साथ सँगै प्राप्त गरेको ठूलो सफलता हो”, उनको शब्द थियो।

तर उनको सफलता केलाउने हो भने सन् २०१६ जुलाईमा फर्किनु पर्छ। क्लबका नयाँ मालिक, ‘चाइनिज फोसुन’ले एक साता भित्र प्रशिक्षक केनी ज्याकेटलाई बर्खास्त गरेका थिए। ज्याकेटका प्रतिस्थापन इटालियन वाल्टर जेंगा १७ खेल टिके। उनले सो दौरान मात्र ६ खेल जिते।

पल लाम्बर्टले त्यसपछि वुलभ्सको कार्यकाल सम्हाले। तर १५औं स्थानमा च्याम्पियनशिप सक्काएका पललाई निरन्तरता दिइएन। फोसुनको हिस्सेदारी जोर्ज मेन्डेससँग छ। उही जोर्ज मेन्डेस जसले क्रिस्टियानो रोनाल्डो र जोसे माउरिन्होको करियर सम्हालेका छन्। जोर्जले वुलभ्सलाई नुनोको नाम प्रस्ताव गरे। र एक वर्षमा चौथौं प्रशिक्षक खोजिरहेको वुलभ्सको खोजि नुनोमा गएर सकियो।

नुनोले वुलभ्ससँग पहिलो सिजनमा च्याम्पियनशिपको उपाधि जिते, दोस्रो सिजन प्रिमियर लिगमा सातौं स्थानमा कब्जा जमाउँदै युरोपियन फुटबल प्रवेश गरे र तेस्रो सिजन युरोपा लिगको क्वार्टर फाइनलसम्मको यात्रा तय गरे। सन् १९७० पछि क्लबको यो शायदै पहिलो सफलताको लय थियो।

तुलना गर्दा यस सिजन वुलभ्सले राम्रो फुटबल खेलको छैन। अहिले १२औं स्थानमा रहेको वुलभ्सले सिजनको अन्तिम खेल म्यानचेष्टर युनाइटेडसँग खेल्दै छ।

निर्माण कार्य

नुनोको भविष्यमाथि गत सिजन देखि नै प्रश्न गरिन थालिएको थियो।

अझै नुनोलाई आवश्यक परेको नयाँ खेलाडीहरू वुलभ्सले उनलाई दिन सकेको थिएन। उनी थकित देखिन्थे। नुनोको वुलभ्स यात्रा सकिएको अड्कल काट्दा काट्दै उनले डिएगो जोटालाई लिभरपुल पठाए। सो रकमले उनले बार्सिलोनाबाट नेल्सन सेमेडो र पोर्टोबाट युवा खेलाडी फाबीयो सिल्भालाई भित्र्याए।

त्यसपछि सेप्टेम्बर १३ मा उनले क्लबसँग गरेको नयाँ सम्झौताले प्रश्नहरु रोकिए र उनको भविष्य वुलभ्ससँगै जोडिएको विश्वास गरियो।

राउल जिमेनेज

जिमेनेजले नुनोको सफलतामा ठूलो भूमिका निर्वाह गरेका छन्। सन् २०१९/२० सिजनमा मेक्सिकन फरवार्ड जिमेनेज एक्लैले वुलभ्सका लागि २७ गोल गरेका थिए।

यस सिजन पनि उनी क्लबको तेस्रो सर्वाधिक गोलकर्ता हुन् र उनले नोभेम्बर पश्चात कुनै पनि खेल खेलेका छैनन्। आर्सनलविरुद्धको खेलमा उनले टाउकोमा गहिरो चोट बेहोरेको कारणले उनी लामो समय मैदान बाहिर बिताउन बाध्य भएका छन्।

उनको अनुपस्थिति टिममा खड्कियो। वुलभ्स अंक तालिकामा खस्किन थाल्यो। नयाँ स्ट्राइकरको खाँचो क्लबले महसुस गर्यो र जनवरीको सट्टा बजारमा वुलभ्स नयाँ फरवार्डको खोजीमा निस्कियो।

स्पेनिश क्लब रियल सोसिड्याडबाट ब्राजिलियन स्ट्राइकर विलियम जोसेलाई टोलीमा भित्र्याइयो। उनको तथ्याङ्क ठीक ठाक थियो र जिमेनेजको अभाव पूरा गर्न सक्ने क्षमता उनमा देखियो। तर उनले अहिलेसम्म मात्र १ गोल गर्न सफल भएका कारणले उनी रोजाइमा तल झर्दै गए।

वुलभ्सको चुनौती झन् बढ्दै गयो र यसैबिच नुनोमाथि निन्दा र आलोचना शुरु हुन लाग्यो। गत २५ अप्रिलमा वुलभ्सले बर्नलीविरुद्ध घरेलु मैदानमा नै ४-० को पराजय भोग्यो। यसले त मानौं आगोमा घिउ थप्ने काम गर्यो। वुलभ्सका समर्थकले नुनोलाई गाली गलोच गर्न छाडेनन्। नुनोलाई यस हार बारेमा सोध्दा उनको जवाफ रह्यो, “रियली ब्याड”।

अब के हुन्छ ?

पहिलो कुरो त नुनोले र्अर्को क्लबसँग आबद्ध भएर वुलभ्स छाडेका होइनन्। उनले क्लबसंगको यात्रामा पूर्णविराम लगाउने बेला भएको कुरा महसुस गरेका हुन्। परिवारसँग ४ वर्ष टाढा रहेका नुनो पक्कै पनि केही समय परिवारजनसँग बिताउन चाहन्छन्।

नुनोलाई चाँडै नै प्रशिक्षक बन्ने प्रस्ताव आउन थाल्छन्। यो कुरामा दुई मत छैन। तर प्रिमियर लिग नै उनको नयाँ गन्तव्य हुन्छ वा अरु कुनै लिग, यो नुनोले राम्ररी विचार गर्नेछन्।

तर नुनो पछि वुलभ्सको के त? जोर्ज मेन्डेसले फेरि अर्को पोर्चुगिज प्रशिक्षक लिएर आउँछन् भन्ने सम्भावनालाई नकार्न मिल्दैन। पोर्चुगिज खेलाडीको भारी बहुमत रहेको वुलभ्समा अर्को पोर्चुगिज म्यानेजर पहिलो रोजाई नै हुनु पर्दछ।

तर नयाँ प्रशिक्षकबाट वुलभ्स ले के अपेक्षा राख्ने त? क्लबले नयाँ प्रशिक्षकलाई के स्रोत प्रदान गर्ने? नुनोको भविष्यले आखिर उनलाई कता डोेर्‍याउने हो? के नुनो नै टोटनह्यामका नयाँ प्रशिक्षक बन्ने हुन् त? प्रश्न धेरै नै छन् , उत्तर समयले दिनेछ।

(बीबीसी बाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?