पोखराको हेम्जामा राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय स्थापना

काठमाडौं । राष्ट्रिय खाद्य बैंकले पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बैंकले पोखरा महानगरपालिका वडा नं. २५ स्थित हेम्जा मिलन चोकमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको हो । हेम्जामा रहेको तिमल्सिना कम्प्लेसमा बैंकले आफ्नो सम्पर्क कार्यालय राखेको छ । हेम्जामा ३५ रोपनी जग्गा भाडामा लिएर पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको र ३ सय रोपनी जग्गा किसानहरुसँग सहकार्य गरिने बंैकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

हेम्जाबासीलाई राष्ट्रिय खाद्य बंैकले सुरु गरेको व्यवसायिक कृषि अभियान मन परेको र करिव ५ सय जनाले संस्थापक शेयर सदस्य बन्न इच्छक भएको पनि उप्रेतिले जानकारी दिए । बैंकमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएकोले आवश्यक मापदण्ड पुरागरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्ने समेत तयारी भएको अध्यक्ष उप्रेतीले बताए ।

राष्ट्रिय खाद्य बैंक ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको हो । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंकमार्फत् धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीको भनाई छ ।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?