नेपाल र यादवको एकै स्वर : ‘ओलीलाई समर्थन छैन’

लोकपथ
224
Shares

काठमाडौं–   नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी शर्मा ओलाीलाई समर्थन नभएको बताएका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन रहेको पत्र लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका नेपाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सो कुरा बताएका हुन् । प्रधानमन्त्री समेत रहेका ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नेकपा एमालेका सबै १ सय २१ र जनता समाजवादी पार्टीको ३२ जनाको समर्थन आफूलाई रहेको भनेर राष्ट्रपति समक्ष शुक्रबार दाबी पेश गरेका थिए ।

तर नेपाल र यादवले राष्ट्रपतिसँग ओलीलाई आफूहरुको समर्थन नरहेको बताएका देउवाको तर्फबाट हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय पुगेका एक नेताले जानकारी दिए । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीको पनि दाबी आएको बताएकि थिइन् ।

त्यसलगत्तै नेता नेपाल र अध्यक्ष यादवले आफूहरु हस्ताक्षरसहित आएको भन्दै ओलीको दाबी सही नभएको बताएका थिए । ओली पनि १ सय ५३ जना सांसदको हस्ताक्षर सहित राष्ट्रपति कार्यालय पुगेका थिए । बिहिबार मात्रै संसदका विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको भन्दै ओलीले राष्ट्रपति भण्डारीलाई धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न आब्हान गर्न लगाएका थिए । तर आज उनी आफूलाई १ सय ५३ जनाको समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालय पुगेका थिए । देउवाले पनि १ सय ४९ जनाको सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी पेश गरेका छन् । धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउनका लागि हाल संसदमा कायम सांसदको संख्या बमोजिम १ सय ३६ सांसदको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?