काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यातायात क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको छ। कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै सरकारले गत वर्षदेखि नै पटक पटक लामो तथा छोटो दूरीको सार्वजनिक यातायात बन्द गरेपछि यो क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको हो ।
अहिले यो व्यवसायमा भएको क्षतिको आँकलन गर्न सकिने अवस्था छैन । तर क्षति नियन्त्रण भन्दा बाहिर पुगेकाले व्यवसाय पूर्ण रुपमा ध्वस्त भएको छ। गत वर्ष को चैत ११ गतेदेखि भएको लकडाउनका कारण यो क्षेत्र निकै प्रभावित भएको थियो । व्यवसायीहरुले ग्यारेजमा गाडी थन्क्याएर राख्न बाध्य थिए । जसले गर्दा गाडी राखिएको ठाउँमै कुहिए, खिया लाग्ने भएर बिग्रिए । जसका कारण यो क्षेत्रको लगानी संकटमा पर्यो। त्यसैले यो क्षेत्र टाँट पल्टिने अवस्थामा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । अब पनि सरकारले सहयोग नगर्ने हो भने यातायात व्यवसाय उठ्नै नसक्ने गरी थला पर्ने उनको भनाई छ। ‘यातायात क्षेत्र उठ्नै नसक्ने गरी थला परेको छ, सरकारले सहयोग नगरे मृत्युशैयामा पुग्छ ।’ महासचिव सिटौलाले भने ।
१० खर्ब लगानी जोखिममा
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने भएको छ । कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसयता लामो समय सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भए । केही समय सञ्चालन हुन थालेका सार्वजनिक यातायात कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा भएपछि पुनः प्रभावित भए । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बौ रुपैँया जोखिममा परेको छ। सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्व रुपैँया भन्दा बढी बैंकहरुको लगानी छ । यस क्षेत्रमा १० लाख भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
लामो तथा छोटो दूरीका गरी करिब ४ लाखभन्दा बढी साना, ठूला सार्वजनिक यातायातका सवारी लामो समय ग्यारेजमा थन्किए । जसले गर्दा यस क्षेत्रमा भएको लगानी जोखिममा परेको छ। यातायात क्षेत्रमा मध्यमस्तरका लगानीकर्ताहरुले मात्रै थोरै थोरै लगानी गर्ने भएकाले सरकारको सहयोग विना उठ्न नसक्ने महासचिव सिटौलाको भनाई छ।
लाखौँ मजदुर बेरोजगार
कार्यरत लाखौँ मजदुरहरु बेरोजगार बनेका छन् । लकडाउनका कारण ३ लाखभन्दा बढी सार्वजनिक यातायातका साधनहरु थन्किएका छन् । गत वर्षकै लकडाउनका बेला लामो समय सवारी साधन थन्किँदा ८० प्रतिशत सवारी साधन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थिए । यस क्षेत्रमा ११ लाख मजदुर कार्यरत छन् । लकडाउनका कारण ४० देखि ४५ लाखको रोजीरोटी खोसिएको महासचिव सिटौला बताउँछन् । दोस्रो लहरका कारण यो क्षेत्रको लगानी तथा यो क्षेत्रसँग जोडिएकाहरूको मजदुरको जीवन संकटमा परेको छ। पटक पटकको लकडाउन तथा निषेधाज्ञाका कारण यातायात क्षेत्रका व्यवसायी तथा मजदुरको जीवन समस्यामा पर्दै गएको छ।
सरकारको राहत भएन
व्यवसाय सकिने अवस्था हुँदा पनि सरकार विकल्प वेखबर रहेको व्यवसायीको भनाई छ। बैंकले व्यवसायीलाई ब्याज छुट दिएन । राज्यले पनि आफैँ सवारी सञ्चालन गर्न नदिएको समयको पनि कर छुट नदिएको व्यवसायीको गुनासो छ। सवारी नै सञ्चालन नभएको बेलामा व्यवसायीसँग कर नलिनुपर्दथ्यो।’ महासचिव सिटौलाले भने।
सरकारले अन्य बेलामा कर लिनुपर्छ । तर गाडी नै सञ्चालन नभएको बेलामा व्यवसायीसँग कर लिएकोमा उनीहरुको गुनासो छ। कोरोनाका कारण मृत्यु शैयामा पुगेको व्यवसाय भनेको यातायात र पर्यटन क्षेत्र हो। पर्यटन क्षेत्रलाई सरकारले प्रशस्त राहत दिएको भए पनि यातायात क्षेत्रलाई राहत नदिएको सिटौलाको भनाई छ। ‘सार्वजनिक सवारीको क्षेत्रमा राज्यबाट कुनै सहयोग भएन।’ उनले भने। सरकारले अब पनि यस क्षेत्रलाई राहत नदिने हो भने व्यवसाय कोल्याप्स हुने सिटौलाको दाबी छ।
सरकारले यतिबेला चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ। सरकारले बजेट तथा मौद्रिक नीतिबाट यातायात क्षेत्रलाई राहत दिनुपर्ने व्यवसायीको माग छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया