धनगढी/टेकसिँह धामी । कैलालीको गेटा मेडिकल कलेजमा निमार्णाधीन अवस्थामा रहेको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । कैलालीमा संक्रमितको संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा २१ वैशाखदेखि निर्माणको काम शुरु भएको थियो ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको बताए । २ हजार क्षमताको आइसोलेन बनाउने तयारी भइरहेको कलेजमा सुरुमा ५ सय बेडको बनाईने भनिएको छ । अहिले ८० देखि ९० बेड तयारी अवस्थामा रहेको र बाँकी आवश्यकताका आधारमा बनाइने नगर प्रमुख वडले बताए ।
उनले भने,‘सबै तयारी सकियो तर अक्सिजन नभएका कारण मात्रै सञ्चालनमा आउन सकेको छैन । हामीले काम र तयारी पूरै गरिसकेका छौँ । अक्सिजनको व्यवस्था हुन नसक्दा रोकिएका छौँ । यदि अक्सिजनको व्यवस्था भयो भने तत्काल आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।’
कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललगायत अन्य निजी अस्पतालमा पनि अहिले अक्सिजनको अभाव भएको उनले बताए । वडले आफुहरु अक्सिजनको व्यवस्थापनमा जुटेको बताउदै केही दिनमै अक्सिजनको व्यवस्था भएर आइसोलेसन सेन्टर सञ्चालनमा आउने दावी गरे ।

आइसोलेसन सेन्टर निर्माणमा प्रदेश सरकार अग्रसर :
गेटामा निमार्णाधीन आइसोलेसन सेन्टर निर्माणलाई चाडो बनाउन सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ । संक्रमितको संख्या अत्यधिक बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी सुरु गरिएकामा प्रदेश सरकारले निर्माण कार्यमा सहयोग गरेका छ ।
सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने समेत बताएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यक जनशक्ति करारमा भर्ना गर्ने जनाएको छ । मन्त्रालयले दुई जना विषेशज्ञ चिकित्सकसहित दुई जना मेडिकल अफिसर, पाँच जना स्टाफ नर्स, हेल्थ असिसटेन्ट, अहेब, अनमी, ल्याब टेकिनिसियन दुई–दुई जना र तीन सरसफाइकर्मी गरी २० जनालाई खटाउने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले बताए । आइसोलेसन सेन्टरमा अक्सिजनको अभावबारे पहल भईरहेको उनको भनाइ छ ।
ह्युमानिटी फाउण्डेसनले अक्सिजन प्लान्ट जडान गर्दै :

पछिल्लो समय कोरोना संक्रमितले अक्सिजनको अभावका कारण अकालमै ज्यान गुमाउँदै छन् । अक्सिजनको अभाव खड्किएका बेला ह्युमानिटी फाउण्डेसन नेपालले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस भन्दै ह्युमानिटी फाउण्डेसन नेपालले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले भने, ‘प्रदेशमा नागरिक अक्सिन नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन् । उक्त समस्यालाई मध्यनजर हामीले निःशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएका थियौ । लगत्तै दुई साताभित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने लक्ष्य राखेका छौ ।’ जनस्तरको सहयोगबाट ह्युमानिटी फाउण्डेसनले अक्सिजन प्लान्ट जडान गर्न लागेको हो ।
अक्सिजन प्लान्ट जडानका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको फाउण्डेसनका महासचिव उपाध्यायले बताए । अक्सिजन प्लान्ट जडान भएपछि बिरामीलाई राहत हुने अपेक्षा गरिएको छ । मंगलबार अक्सिजन प्लान्ट जडान गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र ह्युमानिटी फाउण्डेसन नेपालबीच सहमति भएको छ । कोरोना भाइरसबाट संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन प्लान्ट मन्त्रालयको मातहतमा रहेको सेती प्रादेशिक अस्पतालमा निःशुल्क जडान गरिन लागेको फाउण्डेसनले जनाएको छ ।
अक्सिजन कन्सन्ट्रेटर जडान, उपचारमा सहज :
सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिन थालिएको जानकारी दिए ।
अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको बताउँदै श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

सेवा प्रभावकारी बनाउन बारअनुसारको कार्यतालिका :
सेती प्रादेशिक अस्पतालको सेवा थप चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन बार अनुसारको कार्यतालीका सार्वजनिक गरिएको छ । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले बिहीवार एक विज्ञप्ती जारी गर्दै अस्पतालको सेवा थप प्रभावकारी बनाउन तथा व्यवस्थापन बलियो बनाउन बारे अनुसारको कार्यतालिका सार्वजनिक गरेको हो ।
आइतवार कोभिड वार्डमा खटीएका चिकित्सक तथा नर्सिङ इञ्चार्जसंग देखिएका समस्याका बारेमा छलफल तथा आईसीयू र भेन्टिलेटरका बारेमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै औषधिको अवस्थाबारे फार्मेसी ईञ्चार्जसंग रिपोर्टिङ लिने, प्रयोगशाला ईञ्चार्जसँग श्वाव संकलन तथा छिटो छरितो रिपोर्ट प्रदान गर्ने लगायतका विषयमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया