तरकारीको पकेट क्षेत्र मानिने मकवानपुरको टिष्टुङ पालुङमा उत्पादित तरकारी खेतबारीमै कुहिन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायतका प्रमुख बजारहरुमा तरकारीको खपत न्यून भएपछि उत्पादित तरकारी खेतबारीमै कुहिन थालेको हो ।
यहाँ उत्पादित तरकारी काठमाडौंका साथै हेटौंडा, चितवन, वीरगञ्ज, बुटवललगायतका ठाउँमा विक्रि वितरण गरिँदै आएको भएपनि निषेधाज्ञासँगै ढुवानी रोकिएको छ ।
ऋण गरेर उत्पादन गरिएको तरकारी नबिकेपछि कृषकहरु यतिबेला तरकार बेच्न नसकेर तनावमा छन् । केही समयअघि असिनापानीका कारण क्षति ब्यहोरेका कृषकहरु निषेधाज्ञासँगै तरकारी बिक्न छाडेपछि निराश भएका छन् ।
बज्रवाराहीस्थित मन्जिल नमुना कृषि फर्मका संचालक कृषक मुक्तिनाथ उप्रेतीले असिना र निषेधाज्ञाका कारण बितेको दुई सातामा १५ लाख रुपैयाँभन्दा बढी क्षति ब्यहोर्नु परेको बताए । असिनाको क्षति सहँदासहँदा निषेधाज्ञा लागू भएपछि थप मारमा परेको भन्दै उनले भने, “असिनाले उत्पादन भएको तरकारी क्षतविक्षत भयो, लगत्तै निषेधाज्ञा लागू भएपछि हामी निकै मारमा प¥यौं ।” उप्रेतीले २५ रोपनी जग्गामा काउली रोपेका थिए । तीमध्ये ६ रोपनी जग्गा उनको आप्mनै हो भने १९ रोपनी जग्गा भाडामा लिएका हुन् । यो जमिनको भाडा मात्रै वार्षिक ४ लाख रुपैयाँ तिर्नुपर्छ । भाडाको जग्गामा लगाइएको तरकारीले बजार नपाएपछि किसानलाई जग्गाको भाडा कसरी तिर्ने भन्ने समस्याले पिरोलेको छ ।
“भाउ राम्रो हुँदा घरघरमै आउने ब्यापारीहरु अहिले फोन गरेर बोलाउँदा समेत तरकारी लिन आएनन्,” उनले गुनासो गरे । जति मूल्यमा भएपनि उत्पादित तरकारी बेच्न पाए थोरै भएपनि राहत मिल्ने उनको भनाइ छ । थाहा नगरपालिकाको वडा नम्वर ६ मा पर्ने यो बज्रवाराहीमा मात्रै करिव ४ करोड रुपैयाँ बराबरको काउली नष्ट भएको उनको आंकलन छ ।
उनी जस्तै तरकारी बेच्न नपाएका किसानहरुले आफूले उत्पादन गरेको तरकारी बारीमै खाल्डो खनेर पुरेका छन् । कतिपयले गाइभैसीलाई खुवाएका छन् भने कतिपयले बारीको पाटामा त्यतिकै फालेका छन् ।
एक हजार घरधुरी भएको यो वडामा मात्रै ९ सय भन्दा बढी कृषक छन् । विगतमा वर्षहरुमा यहाँका कृषकहरुले यो सिजनमा मात्रै ४ देखि ५ लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएका थिए ।
तरकारी उत्पादन हुने सिजनमै असिना र निषेधाज्ञा भएकाले कृषकहरु मारमा परेको थाहा नगरपालिका ६ का वडाध्यक्ष शशिधर सुवेदीले बताए । “तरकारी उत्पादन हुने वेलामा असिना प-यो, फेरि निषेधाज्ञा भयो, यसले गर्दा तरकारीले बजार पाएन,” सुवेदीले भने ।
गत वर्ष पनि लकडाउनका कारण धेरै किसानको लगानी समेत नउठेको उनको भनाइ छ । “गत वर्षपनि टनका टन बन्दा बारीमै कुहिएको थियो, यो वर्ष काउली कुहियो,” उनले भने ।
बज्रवाराहीमा मात्रै यो एक सिजनमा करिव ४० टन तरकारी उत्पादन हुने गरेको छ । अहिले धेरैजसो काउली उत्पादन भईरहेको छ भने आलु, बन्दा, मुला, मटरकोसा लगायतका तरकारीहरु केही साताभित्रै बिक्रिमा जाने स्थानीय बताउँछन् ।
उता वडा नम्बर १० मा पर्ने चित्लाङका कृषकहरु पनि उत्पादित तरकारी बजार भाउ नपाएर चिन्तित छन् । चित्लाङका स्थानीय राजन बलामीले अहिले काउली १० रुपैयाँ किलोमा बिक्रि भईरहेको जानकारी दिए । “काउलीले भाउ नपाएर किसानहरुको लगानी नै नउठ्ने अवस्था छ,” उनले भने ।
चन्द्रागिरीको बाटो नखुलेपछि चित्लाङ,कलाँटु, बिसिंखेल लगायत आसपासको तरकारी बाइरोडको बाटो घुमेर काठमाडौं लैजाँदा निकै महंगो पर्ने गरेको उनले बताए । चन्द्रागिरीबाट करिव २० किलोमिटरमा काठमाडौं पुग्न सकिने भएपनि बाइरोडको बाटोबाट ढुवानी गर्दा करिव ७५ किमीको यात्रा गर्नुपर्छ । यसले गर्दापनि किसानहरुले उचित मूल्य नपाएको बलामीको भनाइ छ ।
थाहा नगरको टिष्टुङ पालुङ, बज्रवाराही, चित्लाङ, टौखेल, बिसिंखेल, कलाँटु लगायतका ठाउँहरुमा अहिले काउली प्रशस्त मात्रामा उत्पादन भईरहेको छ ।
तरकारीको पकेट क्षेत्रका कृषकहरु धमाधम तरकारी फालिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा भने महङ्गो मूल्यमा तरकारी उपभोग गर्न बाध्य छन् । ताजा तरकारी नपाउने समस्या त छदैछ, मनपरी मूल्यका कारण राजधानीवासीको भान्छा दिनहुँ महंगिदै गएको छ ।
टिष्टुङ पालुङमा बजार नपाएर काउली कुहिरहँदा काठमाडौंको गल्लीहरुमा प्रतिकिलो ६० देखि ७० रुपैयाँ मा बिक्रि भईरहेको छ । कालीमाटी तरकारी तथा फलपूmल बजारमा स्थानीय काउलीको अधिकतम मूल्य ३५ रुपैयाँ तोकिएको छ ।
कालीमाटी तरकारी बजारमा करिव ४० रुपैयाँ मा कारोबार हुने तरकारी टिष्टुङ पालुङमाबाट करिव १० देखि १२ रुपैयाँ प्रतिकिलोमा ब्यापारीहरुले किन्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया