बज्रवाराही मेला यो वर्ष पनि स्थगित, नित्य पूजा मात्रै गरिने

काठमाडौँ- मकवानपुरको थाहा नगरपालिका ६ टिष्टुङमा हरेक तीन/तीन वर्षमा मनाइने बज्रवाराही माईको मेला यो वर्ष पनि नहुने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण तीव्रदरमा फैलिएपछि मेला स्थगन गरिएको हो । स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज (बुधवार) भएको छलफलले मेला नगर्ने निर्णय गरेको हो। यो मेला गत वर्ष पनि क्षमा पूजा गरेर स्थगित गरिएको थियो ।

मेला स्थगन गरिएपनि नित्य पूजा भने नरोकिने थाहा नगरपालिका ६ का वडाध्यक्ष शशीधर सुवेदीले जानकारी दिए। सोही क्रममा देवताका लागि छुट्याइएको राँगा र बोकाको बली चढाइने पनि सुवेदीले जानकारी दिए । उनले भने, “कोरोना महामारी चलिरहेकाले यो वर्ष पनि औपचारिक पूजा मात्रै गर्ने निर्णय गरेका छौं ।” भाकल गरिएका पूजाहरू भने अरु जुनसुकै दिनमा पनि गर्न सकिने उनले बताए ।

यस अघि पुजारीहरुले कुनै पनि हालतमा मेला रोक्न नहुने र मेला रोक्दा थप अनिष्ट हुने बताउँदै आएका थिए । जात्रा नहुँदा तान्त्रिक बिधिबाट नचाइने १२ वर्षे नाच समेत प्रभावित हुने स्थानीयको भनाइ थियो ।

तिथि अनुसार यो वर्षको मेला आगामी १५, १६ र १७ गते पर्दछ ।  बली दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरि पाल्दै आएका छन् ।

तीन दिनसम्म लाग्ने यो मेलामा पहिलो दिन रथलाई मन्दिरमा लगिन्छ।  दोस्रो दिन मन्दिरमै पूजापाठ गरिन्छ भने तेस्रो दिन रथलाई फर्काएर मेला समापन गरिन्छ । मेला हेर्न काठमाडौँ उपत्यकासहित हेटौडा, वीरगंज, धादिङ्लगायतका जिल्लाहरूबाट हजारौं दर्शनार्थीहरूको भीड लाग्ने गर्छ ।

यहाँको बज्रवाराही माईलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने मान्यता छ। यो गणेश, कुमारी, वाराही, इन्द्रायणी र भैरवको संयुक्त जात्रा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?