काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी एमालेको आन्तरिक कलह उत्कर्षमा पुग्दै गर्दा त्यो समाधानको दिशातर्फ अघि बढेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट ५/५ जना रहने गरी आन्तरिक कलह अन्त्यका लागि कार्यदल गठन भएर काम अघि बढेको छ ।
कार्यदलको पहिलो बैठक मंगलबार बस्यो। ओली र नेपालबीचको दुरी पनि कम हुँदै जान थालेको एमालेका नेताहरुको भनाई छ । तर देखिने गरी र व्यवहारमा भने काम भएको छैन । यद्यपि राजनीतिक द्वन्द्व समाधानको दिशातर्फ अघि बढेको बताइएको छ । यही अवस्थामा भोलि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एमालेका २ जना उम्मेद्वारमध्ये एक जनाले पराजित हुनु पर्ने निश्चित भएको छ। त्यसका गृहमन्त्री समेत रहेका रामबहादुर थापा र स्थानीय तह विज्ञ डा खिमलाल देवकोटामध्ये एकजनाले एमालेबाट हालका लागि धोका पाउनेछन्। बागमति प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभाको उपनिर्वाचनमा भोलि मतदान हुँदैछ ।
कसले पाउला धोका ?
एमालेको आन्तरिक कलह बढिरहेका बेला गत बैशाख २४ गते राष्ट्रिय सभाको उम्मेदवार मनोनयन गर्ने बेलामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट गृहमन्त्री थापा र कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र एमालेको नेपाल तर्फबाट साझा उम्मेदवारका रुपमा डा देवकोटाको उम्मेदवारी पर्यो। साझा उम्मेदवारका रुपमा देवकोटालाई अघि सार्ने नेपालको प्रस्तावलाई कांग्रेस र माओवादीले पनि स्वीकार गरे र आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णयमा पुगे । तर प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने भएपछि एमालेभित्रको आन्तरिक कलहमा घटनाक्रम बेग्लै तरिकाले विकसित भयो र विवाद समाधानका लागि कार्यदल बन्यो । यो अवस्थामा थापा र देवकोटा दुवैजना एमालेका उम्मेदवारका रुपमा खडा छन् । ती मध्ये एक जनाले जित्नेछन् । मंगलबार नेता नेपाललाई भेटेका गृहमन्त्री थापाले नेपाल पक्षले आफूलाई मत दिने हल्ला चलाए । तर नेपालको सचिवालयले थापालाई मत दिने निर्णय नभएको बताएको छ। यस अवस्थामा डा। देवकोटाले बाजी मार्ने संभावना बढेको छ। थापा र देवकोटा एउटै पार्टीका हुन् । थापा माओवादीबाट एमालेमा प्रवेश गरेका नवआगन्तुक हुन् भने देवकोटा पहिलादेखी नै एमालेमा आवद्ध छन् । एमालेमा थापा भन्दा देवकोटाप्रति सहानुभूति रहेको एक एमालेका प्रदेश सांसदको भनाई छ।
एमालेमा चुनौती
एमालेमा अहिले सबैभन्दा महत्वपूर्ण चुनौती भनेको आन्तरिक कलह समाधान गरेर पार्टी एक बनाएर लैजानु हो। यस्तो अवस्थामा अध्यक्ष ओली नेता नेपाललाई छोडेर गृहमन्त्री थापाको पक्षमा लाग्लान् त अर्कोतर्फ विपक्षी समेतको साझा उम्मेदवारका रुपमा रहेका देवकोटालाई छोडेर नेता नेपाल थापाको तर्फ लाग्लान् त ओली निकटकै एक प्रदेश सांसद भन्छन् पार्टी महासचिव इश्वर पोखरेलले गृहमन्त्री थापालाई जिताउन ह्वीप जारी गरेपनि ओली र नेपालबीच कसलाई जिताउने भन्ने समझदारी नभएसम्म देवकोटा नै जितका नजिक छन् । देवकोटाको बागमति प्रदेश सभा सदस्यहरुसंग राम्रो सम्बन्ध छ ।
देवकोटाले बागमति प्रदेशको योजना आयोगमा बसेर काम गरिसकेका छन् । ओली र नेपालबीच समझदारी बनेर दुबैले हस्ताक्षर गरेर निर्णय नभएसम्म गृहमन्त्री थापा एमालेको ओली पक्षका उम्मेदबार हुन भने देवकोटा बिपक्षीदल र एमालेको नेपाल पक्षका साझा उम्मेदवार हुन् । यसको मध्यमार्गी बाटो के होला अहिलेसम्म बन्न सकेको छैन । ओलीले थापालाई जिताउन दवाब दिए कार्यदल बनेर विवाद समाधानतर्फ गइरहेका बेला एमालेको बिवाद झन् चर्किने र नेता नेपाल पनि देवकोटाका विषयमा पछि हटे नेपाललाई कांग्रेस, माओवादी लगायतका विपक्षी दलले भविष्यमा नपत्याउने वातावरण बन्नेछ । किनकि नेपाल र झलनाथ खनालकै आग्रहमा देवकोटालाई कांग्रेस माओवादी र जसपाले समर्थन गरेका हुन् ।
एमालेको राष्ट्रिय सभामा बहुमत छ। गृहमन्त्री थापाले जितेपनि देवकोटाले जितेपनि केही फरक पर्दैन । तर दुवै जना एउटै पार्टीका उम्मेदवार भएकाले कसलाई एमालेले जिताउँछ र पार्टी विवाद समाधानमा के होला भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। बागमति प्रदेशको प्रदेश सांसद र स्थानीय तहमा एमालेको बहुमत छ। तर अहिले सम्मको अवस्था हेर्दा समझदारी नबन्दा मत ओली र नेपाल पक्षमा बाँडिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया