काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले मुलुकमै पहिलो पटक ४७ लिटर क्षमताको अक्सिजन राखिने सिलिन्डर उत्पादनको सफल परीक्षण गरेको छ ।
विस्फोट हुँदा पनि क्षति नहुने गरी बंकरभित्र सिलिन्डर राखेर प्रेसर दिई परीक्षण गरिएको हो । हाल बजारमा १०, २० र ४७ लिटर क्षमताका सिलिन्डर उपलब्ध छन् । उत्पादित सिलिन्डर चीन र भारतको उत्पादनसँग मिल्दोजुल्दो भएको नास्टको भनाइ छ ।
अक्सिजन सिलिन्डर सामान्यतया १५० बार प्रेसरमा भरिन्छ । मंगलबार गरिएको परीक्षणमा २२५ बार प्रेसर दिँदा पनि सिलिन्डर सुरक्षित रहेको थियो । २३५ बार पुग्दा सिलिन्डरमा जोडिएको पाइप वा भल्भमध्ये एकमा समस्या आएको थियो । नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले निरन्तरको प्रयासले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको बताए । ‘अब पाइप वा भल्भको परीक्षण गरी उत्पादन थाल्नतर्फ लागिनेछ,’ उनले भने ।
कोरोना महामारीका कारण अक्सिजनको चरम अभाव झेलिरहेकामा सिलिन्डरको सफल परीक्षणले ठूलै राहत पुग्ने नास्टको दाबी छ । सिलिन्डरमा चिनियाँ रेगुलेटर प्रयोग गरिएको छ ।
‘हाल नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार रुपैयाँ पर्छ । नास्टको प्रविधि प्रयोग गरी तयार सिलिन्डरको मूल्य त्यसको आधा पनि पर्दैन,’ नास्टका वरिष्ठ प्राविधिक शंकर ढकालले भने । सिलिन्डरको परीक्षणसम्म आइपुग्न नास्टका वरिष्ठ प्राविधिक ढकालको नेतृत्वमा अनुसन्धाताहरू गौतम अर्याल, पूर्णराज सुवेदी, कृष्ण ढकाल, सुजन श्रेष्ठलगायतको टोली खटिएको थियो । यो टोलीले डेढ साताभित्र सिलिन्डर निर्माण गरी परीक्षण गरेको हो ।
यसअघि नास्टले एलपीजी ग्यास र एयर कम्प्रेसर ट्यांकमा परीक्षण गरेको थियो । तर प्रेसर बढी हुने भएर विस्फोट हुने देखिएपछि प्रयोगमा ल्याएको थिएन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए । उनले केही दिनभित्रै सिलिन्डर उत्पादन गर्ने कम्पनीहरूसँग छलफल गरी व्यावसायिक उत्पादनको अनुमति दिने बताए ।
महामारीकै बीच नास्टले स्वाब कलेक्सन भ्यान, सेनिटाइजर, धुन मिल्ने मास्क उत्पादन गरिसकेको छ । नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले स्वाब संकलन गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरिसकेको बताए । ‘नास्टले कोभिड नियन्त्रण गर्न अझ महत्त्वपूर्ण योगदान दिनेछ,’ उनले भने ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया