७ सयको अक्सिमिटरलाई ५ हजारमा बिक्री, कहाँ पुग्यो सरकारी अनुगमन ?

काठमाडौं –

कोरोना जोखिमबाट बच्न जारी गरिएको निषेधाज्ञाको मौका छोपी अक्सिमिटरमा भएको कालोबजारी अझै रोकिएको छैन।

काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढेपछि अक्सिमिटरको माग बढेसँगै चरम रुपमा कालोबजारी भईरहेको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितहरुमा अक्सिजनको मात्रा छिट्टै घट्ने समस्या देखिएको छ। जसका कारण अहिले अधिकांश सर्वसाधारणले आफ्नै घरमा अक्सिमिटर राख्ने गरेका छन् ।

कोरोनाको पिसिआर रिपोर्ट आएपछि केही बिरामीहरुमा अक्सिजनको लेभल तुरुन्तै घट्ने भएका कारण डाक्टरको सल्लाह अनुसार सर्वसाधारणले घर घरमा अक्सिमिटरको राख्न थालेपछि माग बढेसँगै कालोबजारी सुरु भएको हो। अक्सिमिटरको माग बढेसँगै हरेक औषधि पसलमा पनि पाइने अक्सिमिटर अहिले पाउन छाडिएको छ । पाएपनि व्यापारीले मूल्य बढी भन्ने गरेका छन्। अस्पतालका आसपासका प्रायःऔषधि पसलहरुमा अक्सिमिटर नै पाँइदैन । केही पसलमा पाइने सामान्य अक्सिमिटरलाई २ हजार देखि ५ हजार मूल्य सम्ममा बिक्री वितरण भइरहेको छ ।

वीर अस्पलाल परिसरको एक औषधि पसलले सामान्य ६/७ सय पर्ने अक्सिमिटरलाई २ हजार ५ सय मूल्यमा बिक्री गरिरहेको छ । अन्य ठाउँका विभिन्न औषधि पसलहरुले पनि ६/७ सयमा अक्सिमिटर दिने गरेका छैनन् । नयाँ बजार सोह्रखुट्टेको शाक्य फर्माले अनलाईन सपिङले मात्रै सो मूल्य उपलब्ध गराउन सक्ने जनाएको छ । औषधि पसलहरुले सो मूल्यमा उपलब्ध गराउन नसक्ने सो फार्मको दाबी छ। उद्योग वाणिज्य उपभोक्ता संरक्षण विभागले बानेश्वरको एक फर्मालाई पनि अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा कारवाही गरेको छ। सो फर्माले ५ हजार रुपैँयामा उपभोक्तालाई अक्सिमिटर बिक्री गरेको थियो।

दराज अनलाईन सपिङले ७ सय देखि ५ हजार रुपैँयासम्मका अक्सिमिटरहरु बिक्री वितरण गरिरहेको छ । तर बाहिर भने कालो बजारी भइरहेको छ । अक्सिमिटरमा कालोबजार मात्रै होइन नक्कली पनि विक्री वितरण भइरहेको छ। केही दिन अघि मात्रै प्रहरीले नक्कली अक्सिमिटर बेचविखन गरेको आरोपमा पक्राउ गरेको थियो।

कोरोना संक्रमण भएपछि संक्रमितलाई अक्सिजनको कमी हुने भएकाले घरमै अक्सिजनको मापन गर्न अहिले अधिकांश सर्वसाधारणले घर घरमा अक्सिमिटर राख्न थालेका कारण तुलनात्मक रुपमा हाल बजारमा अक्सिमिटरको माग बढी छ। त्यसको मौका छोप्दै व्यापारीहरुले बढी मूल्य लिन थालेका छन् । केही समयअघि मात्रै प्रहरीले वीरगञ्जका एकजना औषधि पसलेलाई अक्सिमिटरको मूल्य बढी लिएको फेला पारेपछि पक्राउ गरेको थियो । प्रहरीले वीरगन्जका ३२ वर्षीय रामहरी तिवारीलाई नियन्त्रणमा लिएको थियो । उनले आफ्नै घरमा खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँसम्म लिएर बिक्री गरेका थिए ।

केही समयअघि मात्रै सरकारले मास्कमा कालोबजारी गरेका केही उद्योगहरुलाई कारवाही गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती उद्योगहरुलाई कारवाही गरेको हो । यसअघि मास्कमा कालोबजारी गरेको भन्दै विभागले त्रिपुरेश्वस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैँया जरिवाना गराइसकेको छ । त्यस्तै, विभागले भक्तपुरको ‘हिमालयन लाइफ केयर इन्डस्ट्रिज’लाई कारवाही गरेको थियो । उद्योगले मास्कको कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गरेपछि सो उद्योग कारवाहीमा परेको थियो ।

सम्बन्धित निकाय पनि कोरोना संक्रमणको चपेटामा

केही समय अघि मात्रै जनताका नाममा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको मौका छोपी औषधिजन्न वस्तुमा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने बताएका थिए । तर कालोबजारी भने उपभोक्ताले थेग्नै नसक्ने गरी बढेको छ । एकातिर कालोबजारी मौलाएको छ भने अर्कातिर सरकारले प्रभावकारी अनुगमन गर्न सकेको छैन । वाणिज्य विभाग अन्र्तगतको वाणिज्य उपभोक्ता संरक्षण विभागका कर्मचारीहरु पनि कोरोना संक्रमित भएका कारण विभागले हरेक पसल पसलमा गएर अनुगमन गर्न सकेको छैन । विभागले उजुरी परेको भने कारवाही गरेको छ ।

विभागका प्रवक्ता शिव सेढाइका अनुसार विभागमा अक्सिमिटरको कालोबजारी गरेको थुप्रै उजुरीहरु परेका छन् । त्यसैले विभागले कालोबजारी गर्ने गिरोह समात्ने प्रयास गरिरहेको प्रवक्ता सेँढाइको भनाई छ । ‘हामीले कालोबजारी गर्ने गिरोह नै समात्ने प्रयास गरिरहेका छौँ ।’ उनले भने । विभागले स्थानीय प्रहरीको सहायतामा कालोबजारी गर्ने गिरोह समात्ने प्रयास गरिरहेको हो । अहिले विशेष गरी सेनीटाइजर, मास्क, अक्सिमिटर, थर्मोमिटर, थर्मल गन लगायतका वस्तुमा कालोबजारी हुने गरेको छ। पछिल्लो समय उद्योगदेखि खुद्रा औषधि पसलले समेत कालोबजारी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?