जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रलाई संघीय सरकारले ९ करोड दिने

RSS
143
Shares

तनहुँ । सङ्घीय सरकारद्वारा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई नौ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । कोभिड लक्षित पूर्वाधार थप्न सङ्घीय सरकारले प्राथमिकता दिई बजेटको व्यवस्था गरेपछि उपचारमा सहज हुने भएको छ ।

उक्त केन्द्रमा पाँच भेन्टिलेटर र १० आइसीयू शय्या जडानका लागि  छ करोड रुपैयाँ र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनका लागि तीन करोड रुपैयाँ गरी जम्मा नौ करोड रुपैयाँ अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट आफ्नै भएपछि उपचारमा थप सहज हुने विश्वास गरिएको केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कोभिडका बिरामी बढेपछि प्रतिनिधिसभा सदस्यद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ (किसान) तथा राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलगायतले अर्थ मन्त्रालयमा बजेटका लागि पहल गर्नुभएको बताइएको छ । त्यसैगरी अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरु

गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको हो ।

कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजित गरेकामा ५३ लाख रुपैयाँमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उनले बताए ।

अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने छ । अस्पतालमा उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्तिमा विश्वसनीय हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटरसहितको अलग उपचार कक्ष सञ्चालन गरी १६ सङ्क्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख गुरुदक्त घिमिरेले बताए । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ । दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।

आइसीयू अभावमा वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो । स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ । अस्पतालका कार्यकारी प्रमुख डा श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताए ।

आमा समूहलाई आर्थिक सहयोग

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले स्व बुबा रामबहादुर अधिकारीको स्मृतिमा स्थानीय आमा समूहलाई सोमबार आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका–११ निवासी अधिकारीले स्व बुबाको १३औँ दिनको पुण्यतिथिमा फराकचौर आमा समूहलाई ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकमबाट आमा समूहलाई समाजमा रचनात्मक कार्य गर्न प्रहरी उपरीक्षक अधिकारीले आग्रह गरे ।

कल्याणकारी कोषमा सहयोग जुट्दै

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको कल्याणकारी कोषमा सहयोग जुट्न थालेको छ । शाखाले कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगका लागि आग्रह गरेपछि सहयोग जुट्न थालेको हो । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न शाखाको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

भानु नगरपालिका–९ पुर्कोटका समाजसेवी, प्रभु बैंकका पूर्वसञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष तथा आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहेका श्रीराम पाण्डेले कोषमा २० हजार रुपैयाँ सहयोग गरेको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताए ।

त्यसैगरी व्यास–१ गल्बुबँेसी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गरेका छन् । न्यौपानेले दुई हजार ५११ रुपैयाँ सहयोग गरेका हुन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील न्यौपाने पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य हुन् । कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिलाई कोषमा आर्थिक सङ्कलन गर्ने निर्णय गरिएको महासङ्घ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?