आर्थिक अनुशासन र बजेट कार्यान्वयन पहिलो प्राथमिकता : मन्त्री शर्मा

RSS
77
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको काम कारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने बताएका छन् ।

आज पदबहाली गर्दै योजनामन्त्री शर्माले कर्णालीको विकासका लागि उपलव्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढङ्गबाट बजेट बाँडफाट गर्ने जनाए । “यतिबेला कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापन मुख्य काम हो,” उनले भने, “तत्काल जनताको जीउज्यान जोगाउने कार्य मेरो पहिलो प्राथमिकता हो ।”

योजनामन्त्री शर्माले आगामी आव २०७८÷०७९ मा कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेट्ने, यहाँको आवश्यकता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण गर्ने जनाउनुभयो । भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लग्ने जनाएका उनले आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन गर्ने र कार्यान्वयनमा विशेष जोड दिने बताए ।

शपथ ग्रहणपश्चात् पदवहाली गर्दै मन्त्री शर्माले दुर्गम जिल्लाको विकासलाई प्राथमिकतामा राखेर फाइल सदर गरेका छन् । दुर्गमको विकासविना समग्र प्रदेशको विकास नहुने भएकोले हिमाली जिल्लाका आयोजनासँग सम्बन्धित दुई मोटरेबल पुल र एक सडक निर्माणको लागि तयार पारिएको फाइल सदर गर्दै उनले कार्यारम्भ गरे ।

मन्त्री शर्माले मुगु जिल्लाको दोमुख माटरेबल पुल निर्माणका लागि एक करोड २७ लाख रुपैयाँ, झुक्ला मोटरेबल पुलका लागि पाँच करोड ११ लाख रुपैयाँ र क्याटु–साल्दाङ–धो सडकका लागि १० करोड ५५ लाख रुपैयाँ बजेट सुनिश्चितताको फाइल सदर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?