एनएमबि बैंकद्वारा २ अर्ब बराबरको डिबेन्चर बिक्री खुला

काठमाडौं । एनएमबि बैंकले ‘८.५० प्रतिशत एनएमबि डिबेन्चर (२०८७/८८’ नामक ऋणपत्र खुला बिक्री गरेको छ । बैंकले २ अर्ब बराबरको डिबेन्चर खुला बिक्री गरेको हो ।

बैंकले जेठ २ गते आइतवार (आज) देखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको जनाएको छ ।

जसमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । त्यसैगरी ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ ।

त्यस्तै उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।

१० वर्ष अवधी रहेको उक्त ऋणपत्रको वार्षिक ब्याज ८.५ प्रतिशत रहेको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्नेमा सुरक्षित रहेको संस्थाको रुपमा लिइने गरिन्छ ।

बैंकले सिद्धार्थ क्यापिटललाई ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकका अनुसार लगानीकर्ताले मेरो शेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?