कोरोना संक्रमणको कारण बाँकेका पत्रकार साईको मृत्यु

RSS
0
Shares

बाँके । नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिवार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्ज निवासी स्व साईको शनिवार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २४२ जनाको मृत्यु भएको छ । वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार सङ्क्रमणका कारण ज्यान गुमाउने १०१ महिला र १४१ पुरुष रहेका छन् । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको संक्रमणकै कारण मृत्यु भएको छ । जिल्लामा करिब चार हजार सक्रिय संक्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् । करिब तीन हजारभन्दा बढी संक्रमितको होम आइसोलेसनमा रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?