धनगढीमा कोरोना संक्रमित लक्षित निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा (फोटो फिचर)

टेकसिंह धामी/धनगढी । कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीमा ‘अटो एम्बुलेन्स’ सेवा शुरु गरिएको छ ।

कैलालीको धनगढीमा रोयल कोल्याबोरेटिभ्सले शुक्रवारबाट अटोमार्फत कोरोना संक्रमितहरुलाई अस्पतालसम्म पुर्याउन उक्त सेवा शुरु गरेको हो ।

शुक्रवार ६ वटा अटो र एउटा जीपबाट अभियान शुरु गरेको उक्त संस्थाले शनिवार थप ४ वटा अटो उपलब्ध गराउने जनाएको छ ।

‘कोरोना संक्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ । यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान शुरु गरेका हौँ’ रोयल कोल्याबोरेटिभ्सका संस्थापक सदस्य देवेन्द्र जोशीले भने,‘जसरी पनि संक्रमितहरुलाई समयमै अस्पताल पुराउने हाम्रो लक्ष्य हो । यसले कोरोना संक्रमितहरुलाई ठुलो राहत हुन सक्छ ।’

उनले संक्रमितहरुलाइ अटो एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए । जीपमा २ वटा अक्सिजन सिलिन्डरको व्यवस्था समेत गरिएको छ । अटो चालकहरूलाई प्रशिक्षण दिएर उनीहरुका लागि पिपिई लगायतका स्वास्थ्य सामाग्रीको पनि व्यवस्था गरिएको छ ।

अटोमार्फत सेवा लिनका लागि कमल प्रताप चौधरीको सम्पर्क नम्बर ९८०४६५५२९०९, मनोज चौधरीको ९८१०२०१५६५, तथा रिक्त मगरको ९८१२६५४०९९, बाबुराम पौडेलको ९८१४६४१०८२, बालकृष्ण चौधरीको ९८२३५२६२८४ र सुरेन्द्र सिंहको ९८१८४७८३३० नम्बरमा सम्पर्कका लागि समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?