इंग्लिश प्रिमियर लिग : टोरेसको ह्याट्रिकमा सिटी विजयी

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-३ गोलको रोमाञ्चक जित दर्ता गरेको छ।

न्युक्यासलको घरेलु मैदान ‘सेन्ट जेम्स पार्क’मा खेल ‘गार्ड अफ अनर’बाट शुरुवात भएको थियो। ३ लिग खेल अगावै उपाधि जितिसकेको सिटीको लागि न्युक्यासलका खेलाडीहरुले ‘गार्ड अफ अनर’ दिएका थिए।

खेलको २५ औं मिनेटमा न्युक्यासलले अग्रता लियो। डिफेन्डर क्राफ्टको पहिलो प्रिमियर लिग गोलमार्फत घरेलु टोलीले अग्रता लिन सफल भयो। तर खेलको ३९औं मिनेटमा सिटीका फुलव्याक जाओ चान्सेलोले सिटीलाई बराबरीमा ल्याए।

त्यस्तै सिटीका फरवार्ड फेरान टोरेसले ह्याट्रिक प्रहार गरे। उनको तीन गोलमध्येको पहिलो गोल ४२औं मिनेटमा आयो। तर न्युक्यासलले पहिलो हाफ बराबरीमा सक्कायो। स्ट्राइकर जोलिन्टनले पहिलो हाफको अन्तिम समयमा घरेलु टोलीलाई पेनाल्टीमार्फत बराबरीमा ल्याए ।

दोस्रो हाफको ६२औं मिनेटमा न्युक्यासलले अर्को पेनाल्टी प्राप्त गर्यो र जो विलकले सो पेनाल्टी मिस गरेपनि ‘रीबाउन्ड’मा गोल गर्दा न्युक्यासलले अग्रता लिन पुग्यो।

टोरेसले त्यसको दुई मिनेट पश्चात, दुई मिनेटको अन्तरालमा, अर्को दुई गोल थपे। उनले ६४औं र ६६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। उनले सो क्रममा सिटीको जित पनि सुनिश्चित गरे।

उपाधि उचालिसकेको सिटीले अंक तालिकामा अर्को ३ अंक जोडेको छ। उता न्युक्यासल भने ३६ खेलमा ३९ अंक सहित १६औं स्थानमा नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?