अक्सिजन सकिएपछि हेटौंडा अस्पतालबाट ४२ जना बिरामी चितवन, सिन्धुली र काठमाडौं पठाइयो

लोकपथ
169
Shares

मकवानपुर । कोभिड अस्पतालका रूपमा सञ्चालित हेटौंडा अस्पतालमा अक्सिजन सकिएपछि उपचाररत कोरोना संक्रमितलाई बाहिरी जिल्ला रेफर गरिएको छ ।

अस्पतालले शुक्रबार चितवनस्थित भरतपुर अस्पतालमा १०, सिन्धुली जिल्ला अस्पतालमा १२ र काठमाडौंका विभिन्न अस्पतालमा २० जना संक्रमितलाई रेफर गरेको हो ।

‘हामीसँग अक्सिजन मौज्दात छैन । अक्सिजन टुटाउन नहुने संक्रमित बिरामीलाई अन्यत्रका अस्पताल पठाएका हौं,’ हेटौंडा अस्पताल कोभिड वार्डका फोकल पर्सन डा. सागर काफ्लेले भने । उनले संक्रमितको अवस्था हेरेर रेफर गरिएको बताए । उनले अहिले नयाँ संक्रमितलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

यहाँका चुरेहिल र हेटौंडा सहकारी अस्पतालले पनि अक्सिजन अभावकै कारण नयाँ संक्रमित भर्ना लिन नसक्ने जनाएका छन् । हेटौंडामा संक्रमितको उपचारमा अक्सिजन खपतसमेत बढेको छ । ‘यसअघि दैनिक १९० सिलिन्डर मात्रै खपत हुँदै आएकोमा शुक्रबारदेखि २५० भन्दा बढीको माग छ,’ हेटौंडा अस्पताल सञ्चालन समिति सदस्य उत्सव चौलागाईंले भने ।
अस्पतालमा १५ सयभन्दा बढी खाली सिलिन्डर छन् । तर जिल्लामा प्लान्ट नहुँदा अक्सिजन भर्न बारा, पर्सा, चितवन र नवलपरासीको भर पर्नुपर्ने अवस्था छ । यसअघि भर्न पठाइएका सिलिन्डर आउन अझै दुई दिन लाग्ने उनले बताए । अस्पतालको भेन्टिलेटरमा ६ जना र आईसीयूमा ७ जना संक्रमित छन् ।

कोरोनाको दोस्रो लहरमा संक्रमित हुने धेरैलाई आवश्यक पर्ने देखिएको छ । जसको कारण अक्सिजनको माग उच्च भएको हो । जिल्लामा पर्याप्त अक्सिजन सिलिन्डर भए पनि भर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले यसअघि अन्तरजिल्ला समन्वय गरेर अक्सिजनको अभाव हुन नदिएको तर हाल संक्रमित बढेसँगै अक्सिजनको माग पनि बढेकोले समस्या भएको बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?