नेपाल सुपर लिग : पहिलो उपाधि उचाल्न दुवै टोली तम्तयार

काठमाडौं।  नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता, नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे ।

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा प्रवेश गरेको काठमाडौं रेजर्सले एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीलाई हराउंदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौंलाई शनिवार धनगढीविरुद्द मैदान उत्रिदा लिग चरण र पहिलो क्वालिफायरको हारको बदला लिने अवसर मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस अघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै, आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए ।

प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भए पनि प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्नेमा आफ्नो टोली तयार रहेको कुरा थपे । कप्तान विकेश कुथुले प्रशिक्षकको भनाईलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए ।

उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्ने कुरामाआत्मविश्वास देखायो । प्रशिक्षक तोपे फुजाले काठमाडौंमाथि लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पार्ने दावी गरे ।

यस्तै धनगढीका कप्तान किरण चेम्जोङले शुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरियो । फाइनल पुगेको धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई २–१ गोलले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उप-विजेताले १५ लाख रुपैयाँ पाउनेछ। त्यस्तै व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?